काठमाडौं । नेपाली ब्याण्ड १९७४ एडीले करिब दुई दशकपछि आफ्नो लोकप्रिय कन्सर्ट सिरिज ‘रक यात्रा’ पुनः सुरु गर्ने भएको छ । ब्याण्डले यसपटक ‘रक यात्रा’लाई अन्तर्राष्ट्रिय टुरका रूपमा अघि बढाउँदै अष्ट्रेलियाका विभिन्न सहरमा प्रस्तुति दिने भएको हो ।
टुरको औपचारिक घोषणा बिहीबार ललितपुरस्थित मोक्क्ष लाउन्जमा गरिएको हो । आयोजक रोटेपिङ इन्टरटेनमेन्टका अनुसार टुर आगामी सेप्टेम्बर २३ बाट सुरु हुनेछ । अष्ट्रेलियाका विभिन्न आठ प्रमुख सहरमा आयोजना हुने टुर सेप्टेम्बर र अक्टोबर महिनासम्म सञ्चालन हुनेछ ।
टुरअन्तर्गत सिड्नी, मेलबर्न, ब्रिस्बेन, एडिलेड, पर्थ, न्यु क्यासल, अकल्यान्ड र क्यानबेरामा ब्याण्डले प्रस्तुति दिनेछ । आयोजकका निर्देशक राजेश घिमिरेका अनुसार टुरको तयारी लगभग पूरा भइसकेको छ ।
करिब २० वर्षअघि काठमाडौंको त्रिभुवन रंगशालामा आयोजना गरिएको ‘रक यात्रा’ नेपाली सांगीतिक इतिहासकै चर्चित कन्सर्टमध्ये एक मानिन्छ । उक्त कार्यक्रममा ५० हजारभन्दा बढी दर्शक सहभागी भएको बताइन्छ ।
यसपटकको टुरमा १९७४ एडीले दुई दशकअघिको चर्चित सेट लिस्टलाई समेत समावेश गर्ने तयारी गरेको छ । बिहीबारको पत्रकार भेटघाटमा ब्याण्डका प्रमुख भोकलिस्टद्वय एड्रियन प्रधान र फिरोज स्याङदेन, बास गितारिस्ट निराकर याक्थुम्बा तथा लिड गितारिस्ट मनोजकुमार केसी उपस्थित थिए ।
प्रमुख भोकलिस्ट एड्रियन प्रधानले लामो समयपछि ‘रक यात्रा’का रूपमा टुर गर्न पाउँदा खुसी लागेको बताए । आफूहरूले समय–समयमा विभिन्न टुर गर्दै आए पनि १९७४ एडीको रक यात्रालाई पुनः अगाडि बढाउन पाउँदा विशेष उत्साह रहेको उनको भनाइ थियो ।
यसैबीच, रोटेपिङ इन्टरटेनमेन्टले सरकारको प्रकोप राहत कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । आयोजकका निर्देशक राजेश घिमिरेले पत्रकार भेटघाटकै क्रममा उक्त रकम अनलाइनमार्फत भुक्तानीसमेत गरेका छन् । टुर सम्पन्न भएपछि पनि कम्पनीको तर्फबाट थप सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।






