काठमाडौं । यही भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘पेन्सन पट्टा’ को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक भएको छ । आइतबार ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा प्रेम र मायाको भावनालाई केन्द्रमा राखिएको छ ।
सुरज तामुको शब्द तथा संगीत रहेको गीतमा सुरजसँगै शान्ति श्री परियारको स्वर रहेको छ भने मनोज थापा मगरले संगीत संयोजन गरेका छन् । गीतको भिडियोमा अभिनेता मनोज गुरुङ र अनुशा राईको अभिनय देख्न सकिन्छ । गीतले ‘पेन्सन पट्टा’मा रहेको प्रेम र सम्बन्धको पक्षलाई समेत संकेत गर्छ ।
बाहिरबाट लाहुरे जीवन पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडिए पनि त्यसको भित्री जीवनमा रहेका पारिवारिक सम्बन्ध, प्रेम, त्याग, विछोड र भावनात्मक संघर्ष फिल्मको कथाको महत्वपूर्ण हिस्सा रहेको निर्माण पक्षले जनाएको छ ।
माओत्से गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ, अनुशा राईलगायत कलाकारको अभिनय छ ।
फिल्मलाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन् । मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङ निर्माता रहेको फिल्ममा डिबी गुरुङ प्रोडक्सन म्यानेजर छन् । सुशन प्रजापतिले छायांकन तथा सुरज तामुले कास्टिङ निर्देशन गरेका छन् ।





