एसिया प्यासिफिक स्क्रिन अवार्डका तीन विधामा एलिफेन्ट इन द फग

काठमाडौं । अविनाश विक्रम शाहको फिल्म ‘एलिफेन्ट इन द फग’ १९औँ एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनयनमा परेको छ । एसिया प्यासिफिक स्क्रिन एकेडेमीले ३२ देश तथा क्षेत्रका ३६ चलचित्र समेटिएको मनोनयन सूची सार्वजनिक गरेको छ ।

यो फिल्म उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनय विधामा मनोनीत भएको एसिया प्यासिफिक स्क्रिन एकेडेमीले जनाएको छ । अवार्डमा यस वर्ष मनोनीत फिल्मका ६९ प्रतिशत निर्देशकले आफ्नो पहिलो वा दोस्रो फिचर फिल्म प्रस्तुत गरेका छन् ।
‘एलिफेन्ट्स इन द फग’ले जर्मनी, ब्राजिल, फ्रान्स र नर्वेसँग सहकार्य गरेको छ । यो अवार्ड अस्ट्रेलियामा अक्टोबर ३० मा हुनेछ ।

जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको यस फिल्ममा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतको अभिनय छ ।

निर्देशक शाहको नै पटकथा रहेको फिल्ममा अविनाश विक्रम शाह र सन्दीप बादलको कथा छ । फिल्म नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो ।

निर्मातामा नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स रहेको छन् । सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन् ।

चाल्र्स अडिनेट लाइन प्रोड्यूसर रहेको फिल्मका एशोसिएट निर्माता नायिका केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन् । अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट सह–निर्मातामा प्रवेश गुरुङ, एशोसिएट निर्माता आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई, बेन्जामिन ग्रुब्स छन् ।