काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा नेपालबाट फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ सिफारिस भएको छ ।
द एकेडेमी अफ मोशन पिक्चर आर्टस एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले याे फिल्मलाई छनोट गर्दै नेपालबाट सिफारिस गरेको हो । समितिका अनुसार याे वर्ष ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ले आवेदन दिएका थिए ।
समितिले जारी गरेको विज्ञप्तिमा दुवै फिल्महरूको मूल्यांकन गरी एकेडेमीका मापदण्ड अनुरूप उच्च स्तरीय एवं उत्कृष्ट एक चलचित्र सिफारिस गर्नुपर्ने भएकोले प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखी गहन अध्ययन पश्चात् उक्त अवार्डमा नेपालको तर्फबाट प्रतियोगीका रूपमा फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’लाई छनोट गरिएको उल्लेख छ । यो फिल्मले कान्स फिम्स फेस्टिभलमा जुरी अवार्ड जितेको थियो ।
जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको यस फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, गौरी मल्ल, माओत्से गुरुङ, आकांक्षा कार्कीलगायतको अभिनय छ ।
निर्देशक अविनास विक्रम शाहको नै पटकथा रहेको चलचित्रमा अविनाश विक्रम शाह र सन्दीप बादलको कथा छ । फिल्म निर्मातामा नेपालबाट अनुप पौडेल फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स रहेक छन् । सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन् ।







