कबड्डी ५ः आफ्टर द फाइनल म्याच टिजरमा विपिनदेखि सिर्जनासम्मको इन्ट्री

काठमाडौं । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले युट्युबमा फिल्मको करिब साढे ३ मिनेट लामो टिजर सार्वजनिक गरेको हो ।

टिजरमा फिल्मका मुख्य कलाकार बिके (विजय बराल) को एआईसँगको कनेक्सनलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । यस्तै, काजी (दयाहाङ राई) र मैयाको इन्ट्री पनि आकर्षक शैलीमा देखाइएको छ । सिनेमामा मैयाको भूमिकामा सिर्जना गुरुङले अभिनय गरेकी छन् ।

अभिनेता विपीन कार्कीको इन्ट्रीले टिजरलाई थप रोचक बनाएको छ । उनको संवाद बोल्ने शैलीले दर्शकको ध्यान खिच्ने देखिन्छ । अन्तिममा रिश्मा गुरुङको इन्ट्रीसँगै टिजर टुंगिएको छ ।

विशेषगरी विजय बराल र विपीन कार्कीको क्यारेक्टरका साथै नयाँ मैया बनेकी सिर्जना गुरुङको चरित्रले दर्शकमाझ एक किसिमको कौतुहलता जगाउने देखिन्छ । फिल्म कात्तिक ६ गतेबाट प्रदर्शनमा आउनेछ ।

फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, रिश्मा गुरुङ र सिर्जना गुरुङ मुख्य भूमिकामा छन् । यी कलाकारसहित पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्‍तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुधाथोकी, सरोज अर्याल र शेखर चापागाईंले अभिनय गरेका छन् ।

‘कबड्डी ४ः द फाइनल म्याच’मा मुख्य भूमिकामा देखिएकी अभिनेत्री मिरुना मगरलाई भने फिल्मको प्रचार सामाग्रीमा लुकाइएको छ । बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, आधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ ।