कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्दै इनमार्क

काठमाडौँ । डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँग कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने एआईमा आधारित नयाँ प्लेटफर्म ‘इनमार्क’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौँमा एक विशेष कार्यक्रममार्फत क्रिएटर इकोनोमी र डिजिटल मार्केटिङलाई व्यवस्थित गर्ने ‘अलइनवन अपरेटिङ सिस्टम’का रूपमा यो प्लेटफर्म सार्वजनिक गरिएको हो।

नेपालसहित विश्वभर अझै पनि म्यानुअल प्रक्रियामै निर्भर क्रिएटर इकोनोमीले विश्वव्यापी रूपमा ४०० अर्ब डलरभन्दा बढी आकार ओगटिसकेको छ। कन्टेन्ट क्रिएटरहरूले स्पोन्सरसिप पाउन सामाजिक सञ्जालमा म्यासेज पठाउने, व्यक्तिगत पहुँच खोज्ने र पारिश्रमिकमा मोलमोलाइ गर्नुपर्नेलगायतका विभिन्न झन्झट व्यहोर्दै आएका छन्। इनमार्कले यी सम्पूर्ण उल्झनलाई अन्त्य गर्दै डेटा र एआई इन्टेलिजेन्सको मद्दतले क्रिएटर र ब्रान्डलाई सीधै जोड्ने काम गर्नेछ।

इनमार्कमा आबद्ध भएपछि कन्टेन्ट क्रिएटरहरूले काम खोज्न समय खेर फाल्नु नपर्ने कम्पनीले जनाएको छ। प्लेटफर्मको एआईले क्रिएटरको कन्टेन्ट शैली, पुराना क्याम्पेन र दर्शकको विश्लेषण गरी उपयुक्त ब्रान्डहरूसामु प्रोफाइल सीधै पुर्‍याउनेछ। यसका साथै स्क्रिप्ट लेखन, कन्टेन्ट अप्टिमाइजेसन, एसईओ तथा स्वचालित रिपोर्टिङमा समेत एआईले सहजीकरण गर्नेछ। मूल्य निर्धारण, सम्झौताका सर्तहरू र कन्टेन्टको बौद्धिक स्वामित्व प्लेटफर्ममै सुरक्षित रहने भएकाले क्रिएटरहरूले परम्परागत प्लेटफर्म मोनिटाइजेसनभन्दा माथि उठेर ब्रान्ड सहकार्यमार्फत नियमित आम्दानी गर्न सक्नेछन्।

‘एआई फिट स्कोर’का आधारमा ब्रान्डको बजेट र लक्षित दर्शकसँग ठ्याक्कै मेल खाने क्रिएटरहरू सिफारिस हुनेछन्। ब्रान्डहरूले सयौँ वा हजारौँ क्रिएटरले बनाएका भिडियोहरू निर्धारित ब्रिफ र स्क्रिप्ट अनुसार छन् वा छैनन् भनी एआईमार्फत एकैपटक अडिट गर्न सक्नेछन्। यसले गर्दा विज्ञापन सही दर्शकसम्म पुगी लगानीको उचित प्रतिफल सुनिश्चित हुने कम्पनीको दाबी छ।

क्रिएटर र ब्रान्ड दुवैले सामाजिक सञ्जाल अकाउन्टमार्फत ‘वान(क्लिक’ लगइन गरी इनमार्क मार्फत यो सेवा लिन सक्नेछन्।