जोगिन्दर र शर्मिला काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काठमाडौं । कलाकार शिवशंकर रिजाल जोगिन्दर पानवाला र फिल्म आशाकी निर्मात्री शर्मिला थापा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ मा सम्पन्न क्षेत्रीय अधिवेशनबाट कलाकार शिवशंकर केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। उनी सर्लाहीबाट तेस्रो पटक महाधिवेशन प्रतिनिधि बनेका हुन्।

रिजालले कला क्षेत्रका मुद्दा राजनीतिक तहमा प्रभावकारी रूपमा उठाउन नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेससँग जोडिएको आफ्नो राजनीतिक यात्रालाई अब पार्टीको केन्द्रीय तहसम्म अघि बढाउने उद्देश्यले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए।

उनले नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेससँग जोडिएको आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाउँदै १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको बताए ।

रिजाल नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक महासंघका महामन्त्रीसमेत हुन्। यसअघि १४औँ महाधिवेशनमा पनि उनी सर्लाही क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए।

त्यस्तै नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सर्लाही क्षेत्र नम्बर १ मा सम्पन्न क्षेत्रीय अधिवेशनबाट फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापा सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्।

गत मंगलबार सर्लाहीको बयलबासस्थित गल्ला व्यापार संघको भवनमा भएको निर्वाचनमा थापाले ६९७ मत प्राप्त गरिन्। उनले युवा महिलातर्फ उम्मेदवारी दिएकी थिइन्। उनकी प्रतिस्पर्धी कृष्मा भट्टराईले ४२८ मत प्राप्त गरिन्।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि निर्मात्री थापाले आगामी दिनमा कला क्षेत्रको हितका लागि नेपाली कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्ने दाबी गरिन् । शर्मिलाको फिल्म आशा आगामी माघ १ गतेबाट प्रदर्शनमा आउँदैछ ।