बाः एक योद्धाको ग्रस १ करोड ११ लाख

काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बाः एक योद्धा’ले बिहीबारसम्म १ करोड ११ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । सात दिनमा यो फिल्म ४० हजार ८२३ दर्शकले हेरेका छन् ।

फिल्मका अभिनेता दिव्यदेवले फिल्मलाई इभी गाडीसँग तुलना गरेका छन् । उनले पेट्रोलरडिजेल गाडी जस्तै यसले विस्तारै गति लिएको बताएका छन् । फिल्मका निर्देशक हरि लम्सालले हरेक दिन फिल्मको व्यापार बढिरहेको भन्दै फिल्म हेर्ने दर्शकले परिवारका सबै सदस्यलाई फिल्म हेर्न पठाउने बताइरहेको खुलाए ।

फिल्मका वितरकका अनुसार देशभर फिल्मले एक सयभन्दा बढी शो पाएको छ । फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुन् ।