पुरानो प्रेमकथामा बाटुलो जून टिजर

काठमाडौं । आगामी कार्तिक २६ मा रिलिज हुने फिल्म ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ । दुई मिनेटको टिजरमा फिल्मका अभिनेता भुवन केसीका जवानीको प्रेमलाई देखाइएको छ । भुवनको जवानीको भूमिकामा भने उनका छोरा अनमोल देखिएका छन् । फिल्ममा भुवनको जोडीका रुपमा गरिमा पन्त छिन् भने अनमोलको जोडीका रुपमा प्रिन्सी खतिवडा छिन् ।

टिजर हेर्दा फिल्मले ४० औं दशकको प्रेमकथालाई देखाउन खोजेको बुझ्न सकिन्छ । भुवन केसीको निर्देशनमा बनेको फिल्ममा भुवन, गरिमा, अनमोल र प्रिन्सीसँगै न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर सिवाकोटीलगायतको पनि अभिनय छ ।

फिल्ममा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन तथा रोमन बज्राचार्यको पार्श्व संगीत र प्रदीप श्रेष्ठको एसोसिएट निर्देशन छ । जीया केसी र भविष्य खड्का निर्माता रहेको फिल्ममा विवेक थापा सह–निर्मातामा छन् ।