परिवारको दशैं गीत रातो टिका

काठमाडौं । आगामी कार्तिक १३ गतेबाट रिलिज हुने फिल्म ‘परिवार’को दशैं गीत ‘रातो टिका’ सार्वजनिक भएको छ । गीतमा बाबुल गिरीको स्वर, शब्द र संगीत छ भने बाबुललाई स्वरमा गायिका बबी लिम्बुले साथ दिएकी छन् । स्वरांकन स्टुडियोमा रेकर्ड गरिएको गीतमा बाबुलकै मिक्सिङ, मास्टरिङ तथा एरेन्ज छ ।

गीतमा दशैंको टिका लगाएपछिको रमाइलो माहोललाई प्रस्तुत गरिएको छ । डान्सिङ नम्बरको गीतमा फिल्मका कलाकारहरु कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, लक्ष्मीनाथ तिमिल्सिना, विनिता बस्नेतलगायतको अभिनय छ । गीतलाई दशैंको फ्लेभर दिन लिङ्गे पिङ, चिटिक्क सजाइएका घर, सफा आँगन देखाइएको छ ।

गीत म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । रे अफ आर्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्मको यसअघि नै एक फस्टलुक र टिजर सार्वजनिक भइसकेको छ ।

शाही फिल्म प्रोडक्सन र विशआई फिल्मससँगको सहकार्यमा निर्माण भएको फिल्ममा मदन थापाको निर्देशन छ । ‘कहिले श्रीमानको वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ नारा बोकेको फिल्ममा कामेश्वर चौराशिया, लक्ष्मी बर्देवा, विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायतका कलाकारहरुको पनि अभिनय छ ।

फिल्ममा प्रेम थापा र गणेश उपाध्यायको लेखन, निरज कँडेलको डीओपी, विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन, एनबी महर्जनको एक्सन छ । रमेश शाही निर्माता रहेको फिल्ममा कैलाश रावल कार्यकारी निर्माता र आरम्भ रिजाल सह–निर्माताको रुपमा छन् ।