काठमाडौं । रिबन इन्टरटेनमेन्ट प्रालिले अभिनेत्री निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधिबाट सम्मानित गर्ने भएको छ । भोलि शनिबार राजधानीमा आयोजना गर्ने ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६ मा सिंहलाई उक्त उपाधि प्रदान गर्न लागिएको हो ।
सन् १९९३ मा निर्देशक तुलसी घिमिरेको फिल्म ‘दक्षिणा’बाट अभिनय यात्रा सुरु गरेकी सिंहले रहर, मितज्यू, दर्पणछायाँ, आफन्त, आफ्नो मान्छे, ठुल्दाई, बन्धकी, चाँदनी, को आफ्नो को विरानो, नाता रगतको, खानदान, दाल भात तरकारी र ३६ को आँकडालगायत दर्जनौँ फिल्ममा अभिनय गरेकी छन् । सिंहले नेपाल टेलिभिजनबाट प्रसारण भएको पारिवारिक धारावाहिक वंशको शीर्षगीतमा स्वर दिएकी थिइन्। उनले दीपशिखा नामक म्युजिक एल्बमका लागि पनि गीत गाएकी छन्।
भारतको मुम्बईमा बसोबास गर्दै आएकी सिंहले सन् २०१९ मा मह जोडीको फिल्म दाल भात तरकारीमार्फत अभिनयमा पुनरागमन गरेकी थिइन्।सिंहलाई नेपाल सरकारले सन् २०२३ मा प्रबल जनसेवाश्री पदकबाट सम्मानित गरेको थियो।
रिबन इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले नेपाली फिल्म क्षेत्रमा निरुताले पुर्याएको योगदान, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको उच्च कदर गर्दै मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधिबाट सम्मान गर्न लागिएको बताए। यसअघि अभिेत्रीहरु करिश्मा मानन्धर, गौरी मल्ल, भुवन चन्द थापा, वसुन्धरा भुसाल र पूजा चन्दलाई यो सम्मान प्रदान गरिसकिएको छ ।
यस वर्षको प्रतियोगितामा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जन प्रतिष्पर्धी छन् ।






