काठमाडौं । छ दशकदेखि साहित्य र संगीतमा निरन्तर साधना गरिरहेकी गीतकार तथा साहित्यकार प्राज्ञ उन्नती बोहरा ‘शीला’ को शनिबार एकल सांगीतिक साँझ हुने भएको छ । ‘फर्कि आउ शान्ती तिमी उन्नती शीला संगीत साँझ– २०८३’ नाम दिइएको कार्यक्रम उन्नती बोहरा शीला गीत पुरस्कार मञ्चले आयोजना गर्न लागेको हो ।
आयोजकका अनुसार गीतकार ‘शीला’कोे ६० वर्षे साहित्यिक र ५४ वर्ष लामो नेपाली गीतलेखन यात्राको सम्मान स्वरूप कार्यक्रम हुने भएको हो । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको प्रेक्षालयमा अपरान्ह १ः१५ बजेबाट कार्यक्रम सुरु हुँदैछ ।
‘शीला’का हालसम्म सयौं गीतहरु रेकर्ड छन् । एकल साँझमा उनीद्वारा रचित २५ गीतहरु प्रस्तुत हुनेछन्, जसमा शम्भुजीत बास्कोटा र दीपक जङ्गमले संगीत भरेका छन् ।
एकल साँझका लागि चयन भएका गीतहरु ‘जननी जन्म भूमिश्च’, कहिं कतै लडखडाए भने, फर्र्काइदेउ मेरो प्रेमपत्रहरु, बाँध बाँध मलाई मायाले बाँध, त्यो दिन याद गर, भूल भयो मबाट, फर्की आउ शान्ति तिमी, कस्ले पो देख्छ र, यति गहिरो चोट, सिमलको फुल सरी, म झरनासँग झरझर, बदनाम हुन देउ, सँग जिउने, प्रकृति, यो लामो जीवनमा, मेरो आशक्तिका भावना, मलाई उजाड बनाएर, सेती खोला सँगसँगै तरौंला, के भूल गरें मैंले, डाँडाकाडाँ ढकमक ढाकी, आँखाको परेलीमा, तिमी मेरो प्रेम कहानी, ए निलगगनमा उड्ने पंक्षी, तिमी नभए यो, गुराँसको रंग रातो लगायतलाई विभिन्न गायक गायिकाले प्रस्तुत प्रस्तुत गर्ने छन् ।
प्रत्यक्ष वाद्यवादनसहित प्रमोद खरेल, बानिका प्रधान, माण्डवी त्रिपाठी, प्रविण बेडवाल, जगदिश समाल, कर्णदास, प्राश्ना शाक्य, आनन्द कार्की, संगीता राना प्रधान, निशा देसार, संजय तुम्रुक, विश्व नेपाली, टिका प्रसाईं, सरिता शाही, सुरेश लामा लगायत उनका चर्चित गीतहरुमा गुञ्जिने छन् । मोहनकृष्ण ढली, नारायण दास, विकासनाठ योगी, किशोर कार्की ढली, रविन कार्की, निरज कार्कीढली, बाल गोपाल कार्यक्रमका लागि प्रत्यक्ष वाद्यवादमा रहनेछन् । साँझमा गुञ्जिने गीतहरुमा शम्भुजीत बास्कोटा र दीपक जङ्गमको कर्णप्रिय संगीत सुन्न सकिन्छ ।
मुन्धुम संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काईंलाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा एकल साँझमा ‘फर्की आऊ शान्ति तिमी’ संगीतरत्न शम्भुजित बासकोटालाई सांगीतिक अभिनन्दन गरिनेछ । त्यस्तै गायिका तथा संगीतकार मीरा राणा, साहित्यकार उषा शेरचन, पत्रकार राजाराम फुयाल, डब्बु क्षेत्री, संगीत संयोजक अमूल कार्की ढली, मनोहर सुनाम, नरेन्द्र खड्का फोटोग्राफर मनोज शाही र प्रितिशा केसी सम्मानित हुनेछन् ।
गीतकार उन्नती बोहरा ‘शीला’का ‘कोसेली उसैलाई’, ‘भावनाका तरंग’, ‘अदृश्य घाउ’ जस्ता कृति तथा ‘सिक्काका दुई पाटा’ उपन्यास प्रकाशित छन्। उनका केही साहित्यिक सिर्जना अंग्रेजी भाषामा समेत अनुवाद भएका छन् । नेपाली गीतसाहित्यमा उनको योगदानबारे त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक अनुसन्धानसमेत भएको छ ।






