छाँयाछवि तीज म्यूजिक अवार्ड विजेतालाई ट्रफी

काठमाडौं । छायाँछवि क्रियशनले १३ औं संस्करणको ‘छायाँछवि तीज म्यूजिक अवार्ड’का विजेताहरुलाई आइतबार राजधानीमा ट्रफी प्रदान गरेको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण अवार्डको औपचारिक कार्यक्रम नगरी आयोजकले आइतबार मात्र ट्रफी दिएको हो ।

छायाँछविका अध्यक्ष शान्तिप्रियले प्राकृतिक प्रकोप र देशको अवस्थाका कारण अवार्ड वितरण कार्यक्रमलाई सार्नुपरेको बताए । उनले आगामी अवार्ड कार्यक्रमहरु समयमा नै गरिनेसमेत जानकारी दिए । विजेताहरुलाई अभिनेत्री वसुन्धरा भुषाल, चलचित्र पत्रकार विजयरत्न तुलाधर, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला र संस्कृतिकर्मी आरसी कोइरालाले ट्रफी दिएका थिए ।

अवार्डमा ‘छमछम नाचिदेउ’बाट प्रकाश मिश्रले ‘सर्वोत्कृष्ट तीज गीत मिक्सिङ’, ‘छमछमी नाँचौं न’बाट विपिन आचार्यले ‘सर्वोत्कृष्ट तीज गीत एरेञ्जर’, ‘मेरो माया जुनीभरिलाई’बाट आशा कार्कीले ‘सर्वोत्कृष्ट तीज गीत मोडल नवप्रतिभा’ र सुमन सागर जंग केसीले ‘सर्वोत्कृष्ट तीज गीत मोडल पुरुष’, ‘माईतीघरको आँगन’बाट झरना रिसालले ‘सर्वोत्कृष्ट तीज गीत मोडल महिला’, ‘लाली लपक्कै’बाट गम्भीर विष्टले ‘सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक’, ‘नौरति फूली’बाट दीपक शर्माले ‘सर्वोत्कृष्ट तीज गीत शब्द’को ट्रफी पाए ।

त्यस्तै ‘जन्मेर हुर्केको घर’बाट मनु पन्तले ‘सर्वोत्कृष्ट तीज गीत लय’, ‘रानीहार’बाट शंकर थापा स्माइलले ‘सर्वोत्कृष्ट मौलिक तीज गीत लय’, ‘लाली लपक्कै’बाट निशा सुनारले ‘सर्वोत्कृष्ट दोहोरी तीज गीत गायिका’ र प्रकाश सपुतले ‘सर्वोत्कृष्ट दोहोरी तीज गीत गायक’, ‘भिजायो फरिया बर्खैले’बाट सरिता भारतीले ‘सर्वोत्कृष्ट तीज गीत गायिका’, ‘नक्कल पार्ने बानी’बाट गंगा गौतमले ‘सर्वोत्कृष्ट मौलिक तीज गीत गायिका’, ‘एक वर्षमा एक चोटी’बाट अञ्जु श्रेष्ठले ‘सर्वोत्कृष्ट तीज गीत’ र ‘ह्वीस्की फोरिन्छ’बाट रश्मी पाण्डेले ‘सर्वोत्कृष्ट तीज गीत जुरी’को अवार्ड पाए ।

कार्यक्रममा गायिका सहिमा श्रेष्ठ, गीतकार नारायण कँडेल र ब्युटीसियनद्वय चाँदनी श्रेष्ठ र स्मृति सुब्बालाई सम्मान गरिएको थियो ।