काठमाडौं । काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण आइतबार रसियन हाउस काठमाडौंमा फिल्म प्रदर्शन र पुरस्कार वितरण समारोहसँगै समापन भएको छ। तीन दिने महोत्सवमा नेपाल तथा विश्वका विभिन्न देशका हरर तथा विधागत फिल्म प्रदर्शन गरिएका थिए ।
समापनमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, नेपालस्थित रुसी संघीय दूतावासका मिनिस्टर काउन्सेलर तथा उपनियोग प्रमुख रिनचेन राक्शायेभ, पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह, रसियन हाउस काठमाडौंकी निर्देशक अनास्तासिया खोख्लोभा तथा नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकको उपस्थिति रहेको थियो।
महोत्सवको समापन मोराद मुस्तफाद्वारा निर्देशित ‘आयशा कान्ट फ्लाई अवे’बाट भएको थियो। इजिप्ट, फ्रान्स, जर्मनी, साउदी अरब र ट्युनिसियाको संयुक्त निर्माण रहेको १२० मिनेट अवधिको यो फिल्म काइरोको ऐन शम्स बस्तीमा बस्ने २६ वर्षीया अफ्रिकी आप्रवासी सेवाकर्मी आयशाको कथामा आधारित छ। इजिप्टी र अफ्रिकी आप्रवासीबीचको तनावका बीच गिरोहको नियन्त्रणमा रहेको बस्तीमा आयशाले भोग्नुपरेको संघर्ष फिल्मले देखाएको छ।
फेस्टिभलको प्रतिस्पर्धामा रहेका १८ वटा छोटा फिल्ममध्ये दर्शकहरूको मतका आधारमा आकाश धिमालद्वारा निर्देशित नेपाली फिल्म ‘केनार’ले ‘सर्वश्रेष्ठ छोटो फिल्म’ को अवार्ड जित्यो । त्यस्तै प्रतिस्पर्धामा रहेका ६ वटा फिचर फिल्ममध्ये दर्शकहरूको मतका आधारमा सर्वश्रेष्ठ फिचर फिल्मको अवार्ड नादिमता बेतद्वारा निर्देशित ‘इन द डार्कनेस आइ सी यू’ले जित्यो । यो फिल्म फ्रान्स, लेबनान, कतार र साउदी अरेबियाको संयुक्त प्रस्तुतिहो ।
कार्यक्रममा खनालले नेपालमा हरर फिल्मको प्रवर्द्धन गर्ने यस पहलको प्रशंसा गरे। राखशाएभ र खोख्लोभाले नेपाल रुसबीच फिल्ममार्फत सांस्कृतिक आदानप्रदानलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
महोत्सव निर्देशक राशिक पाठकले दोस्रो संस्करणले नेपाली दर्शकमा विधागत फिल्मप्रति ठूलो रुचि रहेको प्रमाणित गरेको र हरर फिल्मले फिल्मकर्मीलाई लोककथा, समाज र पहिचानजस्ता विषय खोतल्ने सशक्त माध्यम दिने बताए ।
नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सम्पन्न फेस्टिभलमा रसियन हाउस काठमाडौं स्थल साझेदार, सिनेमेकर्स सहयोगी साझेदार तथा आईएमई खल्ती टिकटिङ साझेदारका रूपमा रहेका थिए।






