अमेरिकामा सरिताको नेतृत्वमा देउसी भैलो

काठमाडौं । अभिनेत्री सरिता लामिछानेले अमेरिकामा सञ्चालन गरेको एभरेस्ट कला केन्द्र युएसएले नजिकिदो तिहारलाई लक्षित गरी अमेरिकामा देउसी भैलो कार्यक्रम गरेको छ । हालै रेनल्सबर्गस्थित वेलकम इभेन्ट सेन्टरमा दीपावली, देउसी–भैलो तथा छठ विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बालिकाहरूले नेपाली मौलिक नृत्य तथा देउसी–भैलो प्रस्तुत गरे। कार्यक्रममा ज्येष्ठ नागरिकको सम्मानसमेत गरिएको थियो ।

नेपाली फिल्म तथा टेलिभिजनमा करिब २५ वर्ष बिताएकी सरिता अहिले अमेरिकामा नेपाली कला र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानमा सक्रिय छिन्। लामिछानेले जुन २०२५ मा अमेरिकाको ओहायो राज्यको रेनल्सबर्गमा स्थापना गरेको एभरेस्ट कला केन्द्र नेपाली कला र संस्कृतिको उत्थान, हाम्रो पहिचान भन्ने मूल नाराका साथ सञ्चालनमा छ। अहिले यहाँ सयभन्दा बढी नेपाली समुदायका बालबालिका नृत्य तथा सांस्कृतिक प्रशिक्षणमा सहभागी छन्।

सरिताले नयाँ देश र परिवेशमा पुगेपछि पनि आफूभित्रको कलाकारलाई जीवित राख्ने, नेपाली समुदायका बालबालिकालाई मौलिक कला र संस्कृतिसँग परिचित गराउने र आफ्नो सिर्जनशीलतालाई निरन्तरता दिने चाहनाले कला केन्द्र स्थापनाको प्रेरणा दिएको बताइन्।

अभिनेत्री लामिछानेले निकट भविष्यमै केन्द्रमा नेपाली भाषाको कक्षा सञ्चालन गर्ने योजना बनाएकी छन्। विदेशमा हुर्कँदै गरेका नेपाली समुदायका बालबालिकालाई नेपाली भाषा रमाइलो तरिकाले सिकाउन फन एन्ड लर्न अर्थात् रमाउँदै सिक्ने पद्धति अपनाउने उनको सोच छ। भाषा बुझ्ने र बोल्ने क्षमता विकास भएपछि अभिनय, संवाद, अभिव्यक्ति तथा मञ्च प्रस्तुतिको प्रशिक्षण पनि विस्तार गर्ने योजना छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाअन्तर्गत ओहायो च्याप्टरका अध्यक्ष विजय बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक तथा कलाकार बाबु बोगटीले सांगीतिक प्रस्तुति दिएका थिए।