काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘पाँच पाण्डव’का लागि अभिनेता जितु नेपाललाई भीमको भूमिकामा अफर आउँदा उनी छक्क परेका रहेछन् । किनकी जितुको कद र शारीरिक बनावटले उनलाई भीम चरित्र फिट हुँदैन थियो ।
भीम भन्नासाथ महाभारतको त्यो चरित्रको सम्झना आउँछ, जो पाँच पाण्डवमध्ये सबैभन्दा बलिया थिए । तर ट्रेलरमा जितुलाई भीमका रुपमा प्रस्तुत गरिएपछि उनी कसरी भीम भए भन्ने चर्चा नचलेको पनि होइन ।
तर फिल्ममा भीमको चरित्रबारे जितुको बुझाई फरक छ । ‘भीम नाम लिँदा सबैले ठूलो चरित्रलाई बुझ्छन् । तर फिल्ममा मेरो चरित्र पनि रमाइलो नै छ । किनभने यो ठ्याक्कै पाँच पाण्डव नै होइन । कसैले मलाई ‘तँ भीम हो’ भनेर सोध्ने पनि होइन’, जितु भन्छन्, ‘स्वर्गमा रहेका युधिष्ठिर दाजुभाई नहुँदा सुखी हुनुहुन्न । उहाँलाई चार जना भाइहरुको सम्झना आउँछ । अनि ५१ सय वर्ष पछि कुनै न कुनै रुपमा जन्मे होला नि मेरा भाईहरु भनेर चिन्तित भइरहँदा भगवानले भाईहरु नेपाल नगरीमा छन् है भनेपछि उहाँ खोज्न आउँदा हामीलाई भेटेर ‘तँ भीम होस्’, ‘तँ अर्जुन होस्’, तँ मेरो नहकुल होस्’ भनेर चिनाउनु हुन्छ । मैले आफैं भीम हो भनेको छैन । कसैले त्यो क्यारेक्टर सम्झन त पायो । कसैले भीम सानो हुनुभयो पनि भने । तर भीम सानै हुन नपाउने भन्ने त होइन नि ।’
जितु अगाडि भन्छन्, ‘फिल्ममा म इट्टाभट्टाको मजदुर हुँ । त्यसकारण मैले निर्देशकको निर्देशन र कथा अनुसार जे माग छ, त्यही अनुसार गरेको हुँ । हामी केवल पाण्डवको एउटा अंश मात्र हौं । कल्पनामा आएर कसैले कनेक्ट गर्यो भने एउटा कुरा हो ।’
जितुलाई फिल्ममा काम गर्दा तीन चुनौती लागेको रहेछ । पहिलो चुनौती, दीपाश्री निरौला । किनकी फिल्ममा दीपाश्री र जितु नेपाल श्रीमान श्रीमतिको भूमिकामा छन् ।
‘मैले यसअघि विज्ञापनमा दीपा दिदीसँग काम गरेको थिएँ । तर यसमा चाहिँ भीमको श्रीमतिको रोल आयो । त्यो नौलो अनुभव भयो । अर्को कुरा हरिवंश आचार्यज्यूसँग पहिलोपटक स्क्रिन शेयर गरें । युधिष्ठिरले भीमलाई सम्झाउँछन् त्यो खालको मलाई फरक अनुभव भयो । अनि पाँच पाण्डव छन्, अरु पनि कलाकार हुनुहन्छ । यो धेरै ठूलो क्यानभासको स्टार भएको फिल्ममा म आफू कसरी प्रस्तुत हुने, कुन रुपले जितुलाई सम्झेलान् भन्ने चुनौती मलाई थियो’, जितु भन्छन् ।
जितुले फिल्म ‘पाँच पाण्डव’का निर्देशक वसन्त निरौलासँग ‘ज्वाइँ साब’मा काम गरिसकेका थिए । ‘पाँच पाण्डव’का लेखक सुशील पौडेलसँग पनि पुरानै चिनजान थियो भने निर्माता नविन श्रेष्ठसँग फिल्म ‘लाज शरणम्’को समय देखि नै चिनजान थियो । ‘प्रायः भेटघाट भइरहने हुँदा फिल्म गरौं भन्ने कुरा भयो । अनि पाँच जना पाण्डव चाहिँदा म त पर्ने कुरा भइहाल्यो’, उनी भन्छन् ।
फिल्ममा बसन्त निरौलाको निर्देशन छ । फिल्ममा जितुसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, दीपाश्री निरौला, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ । फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्मातामा काली रानी श्रेष्ठ छिन् ।






