काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर कलाकार रमेश दुलालले यस वर्ष पनि काठमाडौंमा २३औँ काग सम्मेलन सम्पन्न गरेका छन् । आफ्नो मुखबाट कागको हुबहु आवाज निकालेर काग भेला पार्ने अनौठो कलाका कारण चर्चामा आएका दुलालले शनिबार बिहान नारायणहिटी दरबारमार्ग परिसरमा सम्मेलन आयोजना गरेका हुन् ।
राष्ट्रिय संगीतकर्मी संघ र इलामको सन्दकपुर गाउँपालिकाको आयोजनामा सम्पन्न सम्मेलनमा दुलालले मुखबाट कागको आवाज निकालेपछि आकाशमा सयौँ काग भेला भएका थिए ।
करिब १०० प्रकारका आवाज हुबहु निकाल्न सक्ने क्षमता भएका दुलालले विगत २३ वर्षदेखि निरन्तर काग तिहारको दिन काग सम्मेलन गर्दै आएका छन् । राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्षसमेत रहेका उनले सम्मेलनको २५औँ संस्करणलाई विशेष र भव्य बनाउने योजना सुनाए । त्यस अवसरमा ठूलो स्टेज निर्माण गरी कार्यक्रमलाई अझ व्यवस्थित र आकर्षक रूपमा आयोजना गर्ने उनको तयारी छ ।
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवालसहित विभिन्न कलाकार तथा संगीतकर्मीहरूको सहभागिता रहेको थियो । हरेक वर्ष काग तिहारलाई विशेष बनाउँदै आएका दुलालको यो अनौठो कला र काग सम्मेलनले तिहारको सांस्कृतिक र मनोरञ्जनात्मक पक्षलाई समेत थप रोचक बनाउँदै आएको छ ।







