काठमाडौं । यतिबेला फिल्म ‘हिमालयन गोल्ड’ चर्चामा छ । हिमाली भेगमा पाइने यार्सागुम्बालाई प्रमुख माध्यम बनाएर निर्माण गरिएको यो फिल्मको ट्रेलरले पनि फिल्मवृत्तमा एक किसिमको हाइप बनाइसकेको छ । यो फिल्मका निर्देशक धिरज राजवंशी हुन् जो आफ्नो डेब्यू निर्देशकीय फिल्म ‘हिमालयन गोल्ड’ लिएर दर्शकमाझ यही मंसिर ४ गतेदेखि आउँदैछन् । अमेरिकाको लसएन्जल्समा फिल्म डिरेक्सन र प्रोड्युसिङ विषयमा अध्ययन गरेका धिरजले नेपालमा फिल्म ‘खुस्मा’मा चिफ एडीको काम गरिसकेका छन् । ‘खुस्मा’को सुटिङका लागि रुकुम पुग्दा उनले ‘हिमालयन गोल्ड’को कथा भेट्टाएका रहेछन् ।
‘हामी ‘खुस्मा’को सुटिङका लागि रुकुम पुगेका थियौं । सुटिङ सकिएपछि मैले स्थानीयबाट सबैभन्दा राम्रो यार्सागुम्बा रुकुममा पाउँछ भन्ने थाहा पाएँ’, उनले भने, ‘सुटिङ सकेपछि घोडा चढेर स्थानीयसँग यार्सागुम्बा पाउने ठाउँमा पुगें । त्यो बेला यार्सागुम्बा टिप्ने सिजन पनि रहेछ । त्यहाँ पुगेपछि यार्सागुम्बा टिपेका व्यक्तिहरुमाथि कसरी लुटपाट हुन्थ्यो, कसरी डोल्पाका मान्छेहरु रुकुम आउँथे, मनाङ जान्थे भन्ने थाहा पाएँ । माओवादी युद्ध पनि रोल्पा, रुकुमबाट नै सुरु भएको थियो । सुरक्षा नहुँदा कसरी लुटपाट हुन्थ्यो भन्ने थाहा पाएपछि ‘ल यसमा चाहिँ कथा छ है’ भन्ने लाग्यो’, उनले भने ।
धिरज यार्सागुम्बाकै कथामा अहिलेसम्म कसैले फिल्म नबनाएको दाबी गर्छन् । त्यहीकारण आफूले फिल्ममार्फत रुकुम, डोल्पा, रोल्पा, मनाङको समुदाय यार्सागुम्बाको सिजनमा कसरी निर्भर हुन्छन् भन्ने कुरा देखाएको खुलाए । धिरजको भनाईमा फिल्मले सन् १९९० ताकाको समयलाई देखाएको छ । जुन समयमा स्थानीयबासिन्दा यार्सागुम्बा टिप्न जाँदा सरकारी सुरक्षाको अभावमा लुटपाटमा पर्थे ।
धिरजले फिल्मको कथा डेढ वर्ष समय लगाएर तयार पारेका छन् । जसका लागि उनी स्क्रिप्ट लेख्न नै मुस्ताङ चारपटक पुगे । जहाँ यार्सागुम्बा टिप्ने स्थानमा पुगेर क्याम्प नै बनाएर बसेका रहेछन् । ‘त्यहाँ पुग्न मलाई घोडामा पाँच घण्टा समय लाग्यो । मलाई खासमा डोल्पामा सुट गर्न मन थियो । तर फिजिबिलिटी, बाटो सुविधा नभएर र प्रोडक्सन खर्च बढी हुने देखिएपछि मैले मुस्ताङमा सारे’, उनले भने, ‘मुस्ताङमा सार्दा पनि हाइ अल्टिच्यूटमा नै गर्यौ । ४८०० भन्दा मुनि त सुट नै गरेनौं । लोमान्थाङमा व्यवासायिक रुपमा सुट गरेको फिल्म सम्भवत हाम्रो नै पहिलो हो । लोमान्थाङ माथि पनि सुट गरेर आएका छौं ।’
धिरजका अनुसार फिल्ममा परीक्षा लिम्बुले प्रमुख भूमिका निभाएकी छन् । परीक्षाको अभिनय रहेको फिल्म ‘ऊनको स्वीटर’ हेरेपछि परीक्षाको अभिनयबाट धिरज प्रभावित भएका रहेछन् । ‘मैले प्रोडक्सन भन्दा ६ महिना अघि नै उहाँलाई फिल्मको लुज ड्राफ्ट दिएको थिएँ, त्यो उहाँले मनपराउनुभयो अनि साइन गराएँ । फिल्ममा परीक्षा हिरो, अनि चारजना गुण्डा छन् । पहिलो गुण्डाको रुपमा कर्मा दाईलाई नै लिएँ । किनभने स्क्रिप्ट लेख्दा देखि नै कर्मा दाई दिमागमा हुनुहुन्थ्यो । त्यसपछि सजन थापा मगर । उहाँलाई मैले ‘पशुपति प्रसाद’ हेरेपछि नै आफ्नो फिल्ममा लिन्छु भन्ने थियो । अनि उहाँले अडिसन दिनुभयो र छनोट हुनुभयो । अनि अन्तिममा सुनिल थापा चाहिँ जोडिनुभयो ।’ उनले भने ।
हिमाली भेगमा फिल्मको सुटिङ गर्नुपर्दा उनले चुनौती राम्रै भोगेका रहेछन् । ‘हामीले प्रि प्रोडक्सनमा नै प्रत्येक काष्ट एण्ड क्रुलाई नै भनेका थियौं । पहिलादेखि नै वार्मअप गरिरहेका थियौं । मुक्तिनाथ भन्दा माथि सुट गर्नुपर्छ । लोमान्थाङमा सुट गर्नुपर्छ । स्वास्थ्यको तयारी गर्नु । गोजीमा लसुन बोक्नु । ती सबै कुरा गरिराख्नु भनेका थियौं । हामीलाई ठूलो च्यालेन्ज चाहिँ थिएन । हामीलाई प्रोडक्सन मेनेजरले दैनिक रुपमा राती सबै जनाको अक्सिजन लेभल चेक गरिरहन्थे । लोमान्थाङमा बढी चेकजाँच गरियो । हामीलाई जाडो नै बढी दुःख भयो’, उनी भन्छन् ।
‘हिमालयन गोल्ड’ अन्डरडगको कथा भएकाले आम दर्शकमा कनेक्ट गर्नेमा धिरज ढुक्क छन् । धिरज ‘हिमालयन गोल्ड’लाई व्यावसायिक फिल्म नै मान्छन् । तर फिल्म फरक जनरामा बनेको छ भन्ने कुरामा उनी ढुक्क छन् ।
अहिले धिरज एउटा कुरा ढुक्कका साथ भन्छन्, त्यो के हो भने फिल्म ‘खुस्मा’को लागि उनी रुकुम नपुगेको भए सायदै त ‘हिमालयन गोल्ड’ केही ढिलो निर्माण हुन्थ्यो । ‘सायद फिल्म बन्थ्यो, तर यति गहिराईमा चाहिँ बन्दैन थियो । म त्यहाँ जानुभन्दा अगाडि चाहिँ फिल्म गर्नुपर्छ है भनेर मेरो मनमा थियो । तर त्यहाँ पुगेपछि स्क्रिप्टको डिटेलिङका लागि कतिपय क्यारेक्टरहरु त त्यहाँको वास्तविक मान्छेका चरित्र पनि छन् । जसलाई मैले भेटेको थिएँ । फिल्मका घटना र दुर्घटनाहरु पनि त्यही कथा सुनेर नै राखेको हो । ‘खुस्मा’को समयमा त्यहाँ नगएको भए मलाई अलिकति समय चाहिँ लाग्थ्यो’, धिरजको भनाई छ ।
अ ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्ममा सुनिल थापा, कर्मा शाक्य, मेनुका प्रधान, परीक्षा लिम्बु, राहुल एन।मुखिया, सजन थापा, अङ्कित खड्का, सुनील तामाङ, तेन्जिङ ठाकुरी, सबिता अधिकारी, ऋषिकेश बस्यालको मुख्य अभिनय छ ।
मीनबहादुर भाम निर्माता रहेको यस फिल्मका लाइन प्रोड्युसर शैलेन्द डी। कार्की, सह(निर्माता सुयश ज्ञवाली र कायकारी निर्माता राजु राजवंशी हुन् ।निर्देशक राजवंशीकै कथा रहेको फिल्ममा दीपेन्द गौचन र धिराज राजवंशीको पटकथा, विशष्ठ प्रधानको डिओपी, निमेश श्रेष्ठको सम्पादन, सजल लोप्चन र करुण थापाको भिएफएक्स छ ।
यो फिल्मलाई भारतको प्रतिष्ठित वितरक ए ए फिल्म्स्ले भारतमा प्रदर्शन गर्ने भएको छ । ए ए फिल्म्स भारतीय सिनेमाकै प्रख्यात वितरण कम्पनी हो, जसले बहुबली, आरआरआर, केजिएफ जस्ता फिल्म वितरण गरेको थियो । मिडलइस्ट डिस्ट्रिब्युटरमा फार्स फिल्मको मोसन पिक्चर्सले गर्ने फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले वितरणको जिम्म लिएको छ ।







