धर्मगुरुहरु भन्छन्ः पाँच पाण्डवले हिन्दु धर्मलाई हेलाहोचो गरेको छैन

काठमाडौं । हिन्दु धर्मगुरुहरूले फिल्म ‘पाँच पाण्डव’ले हिन्दु धर्मलाई हेलाहोचो नगरेको बताएका छन् । उनीहरूले सोमबार फिल्म हेरेपछि सामाजिक सञ्जालमा आएजस्तो फिल्ममा केही नरहेको बताएका हुन् ।

उनीहरुले फिल्मले हिन्दू धर्म, महाभारत, पाण्डव, गीता वा धर्मका अन्य कुनै पनि पक्षलाई आँच पुर्‍याउने काम नगरेको उल्लेख गरेका छन् । फिल्मको पोस्टर र ट्रेलर हेर्दा फिल्ममा केही समस्या छ कि भन्ने लागेर आफूले आंशका व्यक्त गर्दै केही लेखेरबोले पनि फिल्म हेर्दा त्यस्तो केही पनि नरहेको बताएका छन् ।

बसन्त निरौलाले निर्देशन गरेको फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका छ ।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा काली रानी श्रेष्ठ निर्माता छिन् ।