काठमाडौं । अभिनेत्री उपासना सिंह ठकुरी यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘जलाकी’मार्फत दर्शकमाझ आउँदैछिन् । यो फिल्ममा उनी लिसारा चरित्रमा देखिँदैछिन् ।
सुदुरपश्चिमको दार्चुलामा जन्मिएकी अभिनेत्री उपासना सिंह ठकुरीले २०७५ सालमा फिल्म ‘क्याप्टेन’मा अनमोल केसीको अपोजिटमा रहेर नेपाली फिल्म क्षेत्रमा डेब्यू गरिन् । त्यसपछि ‘कबड्डी कबड्डी कबड्डी’, ‘डिसेम्बर फल्स’, ‘दुई नम्बरी’, ‘हात्तीछाप’, ‘खुस्मा’, ‘के घर के डेराः घर नं. २’, ‘कर्मा’ र ‘माइतीघर’ हुँदै यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘जलाकी’सम्म आइपुग्दा फिल्मी अभिनयको रफ्तार उस्तै छ ।
द्वन्द्वकालिन प्रेमकथामा आधारित फिल्म ‘खुस्मा’ले त उनलार्य राष्ट्रिय चलचित्र पुरस्कार नै दिलाइदियो । उनै ‘खुस्मा’का निर्देशक अशोक थापा मगरको फिल्म ‘जलाकी’मा उपासना ‘लिसारा’ चरित्रमा देखिँदैछिन् । उपासना फिल्ममा प्रेमकथासँगै त्यसको फराकिलो दायरा पनि समेटिएको बताउँछिन् । ‘प्रेम भन्नेबित्तिकै हामी प्रेमी–प्रेमिकाबीचको सम्बन्ध मात्र सम्झिन्छौँ । तर आमाबुबा र छोराछोरीबीचको माया, छुटेका मान्छेको सम्झना र कसैको प्रतीक्षामा बितिरहेको जीवन पनि प्रेमकै गहिरो रूप हो । ‘जलाकी’ ले यिनै त्याग, विछोड र प्रतीक्षाको कथा भनेको छ,’ उनी भन्छिन् । फिल्ममा उनको अपोजिटमा सोनाम तोप्देन छन् ।
फिल्ममा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।







