परीक्षा भन्छिन्ः म हिमालयन गोल्डको पिलर

काठमाडौं । अभिनेत्री परीक्षा लिम्बु आगामी मंसिर ४ गतेबाट रिलिज हुने फिल्म ‘हिमालयन गोल्ड’मा सोनाम पात्रको भूमिकामा देखिँदैछिन् । हिमाली परिवेशमा निर्माण गरिएको फिल्ममा परीक्षा फिल्मकी प्रमुख पात्र हुन् ।

परीक्षा आफूलाई फिल्मको पिलरको रुपमा चित्रण गर्छिन् । ‘सिंगो कथा एक्लै बोक्नु भन्दा पनि कथा अनुसार मैले न्याय गरेको छु भन्ने लागेको छ । मैले सबै टिमसँग मिलेर पिलरको काम गरेकी छु । निर्देशकदेखि फिल्मका सबै सदस्यको सहयोग र बुझाई थियो । जसले गर्दा राम्रोसँग काम गर्ने वातावरण बन्यो’, उनी भन्छिन्, ‘मेरो चरित्रलाई राम्रोसँग निभाउन टिमका सबै सदस्यको उत्तिकै योगदान थियो । मलाई सोनाम चरित्र चुनौतीपूर्ण त लागेकै थियो । तर टिम राम्रो भएपछि त्यो यात्रा रमाइलो भयो ।’

फिल्मका निर्देशक धिराज राजवंशीले परीक्षालाई फिल्मको कथा सुनाएर सोनाम चरित्रको अफर गर्दा उनमा मिश्रित इमोसन आएको रहेछ । ‘म उत्साहित पनि थिएँ र अलिकति कता कता नर्भसनेस पनि थियो । यस्तो परिवेशको कथा र चरित्र दर्शकमाझ आउनुपर्छ भन्ने पनि लागेको थियो । मैले कहिले पनि यस्तो पात्र, चरित्रलाई प्रत्यक्ष रुपमा नभेटेको र नदेखेको हुँदा अलिकति चुनौतीपूर्ण पनि थियो । त्यो चुनौतीमा काम गर्न मलाई एक किसिमको रमाइलो पनि लाग्यो’, परीक्षाले भनिन्, ‘हिमाली भेगको कथामा मैले आफूलाई कहिल्यै पनि एक्स्प्लोर गरेको थिइनँ । मेरो उत्साहले मलाई अगाडि बढिराख्न मोटिभेट गर्यो । अनि त्यो नभर्सनेसले कता कता जिम्मेवार पनि बनाइरहेको थियो ।’

परीक्षाका अनुसार फिल्मको कथा र परिवेशले उनलाई ‘हिमालयन गोल्ड’मा आकर्षित गरेको रहेछ । ‘आफूले अहिलेसम्म नगरेको अलिक फरक खालको फिल्ममा काम गर्न पाउँछु पनि भन्ने थियो । एउटा कलाकारका लागि एउटै किसिमको भूमिकामा सीमित नराखी नयाँ नयाँ खालको चरित्रमा काम गर्न पाउनु एउटा राम्रो अवसर हो जस्तो लाग्छ । त्यही भएर पनि यो प्रोजेक्टमा अभिनय गर्न राजी भएँ’, परीक्षा खुलिन् ।

परीक्षाले सोनाम चरित्रमा आफूलाई ढाल्नका लागि निकै मेहनत गरेकी रहिछन् । ‘मैले त्यो क्यारेक्टरलाई बुझ्ने कोशिस गरें । उसले कसरी सोच्छ, उसको व्यवहारदेखि लिएर, उसले गर्ने अवस्था कस्तो छ, उसले गर्ने निर्णयको पछाडिका कारणहरु बुझ्न खोजें । टिम सदस्यको सहयोग, निर्देशकको भिजन, कुनै पनि क्यारेक्टर लेखिरहँदा निर्देशकको आफ्नो भिजन हुन्छ । बुझाई हुन्छ । त्यो क्यारेक्टर अर्थात् सोनामलाई लिएर धेरै नै छलफल गरेका थियौं । त्यसले पनि मलाई सहयोग गर्यो । अनि सबैजना मिलेर सोनामलाई सोनाम बनाउन धेरै नै मेहनत गरेका छौं’, उनले भनिन् ।

यो फिल्ममा सुनील थापा, कर्मा, मेनुका प्रधान, अंकित खड्कालगायतका कलाकारहरुको अभिनय छ । परीक्षा यी कलाकारहरुसँगको सहकार्यलाई चुनौतिभन्दा पनि सिकाईको रुपमा लिन्छिन् । ‘मैले करियरको सुरुवातदेखि नै राम्रो टिम र राम्रो व्यानरसँग काम गर्ने अवसर पाएको थिएँ । जसले गर्दा मेरो आत्मविश्वास बढ्दै गइरहेको छ । हरेक समय अग्रज कलाकारहरुसँग काम गर्दा त्यसलाई चुनौती भन्दा पनि एउटा सिक्ने अवसरको रुपमा लिन्छु । उहाँहरुको अनुभव, काम गर्ने तरिकाबाट धेरै कुरा सिक्ने अवसर पाइन्छ । जसकारण भर्खरै आइरहेको मान्छेलाई प्रोत्साहन मिल्छ जस्तो लाग्छ । यो फिल्ममा पनि सुनिल थापा सर र अरु एकदमै धेरै राम्रो कलाकार हुनुहुन्छ । जोसँग मैले स्क्रिन शेयर गर्ने मौका पाएको छु । विस्तारै आत्मविश्वास बढ्दै गइरहेको फिल भइरहेको छ’, उनले भनिन् ।

परीक्षा आफूले निभाएको चरित्र सोनाम र आफू बीच स्वभावमा केही समानता रहेको स्वीकार्छिन् । तर धेरै कुरामा उनको र सोनामबीच फरक रहेको उनको दाबी छ । ‘सायद त्यही कुराले नै कुनै कुनै प्रस्तुतीकरणलाई अझ रोचक बनाउँछ जस्तो लाग्छ । अनि मलाई कलाकारका रुपमा जहिल्यै पनि आफूभन्दा फरक सोच भएको अथवा आफू भन्दा फरक क्यारेक्टरमा काम गर्न मन लाग्छ । सायद सबै कलाकारलाई त्यही नै हुन्छ जस्तो लाग्छ । त्यही गर्न पाउनु नै अभिनयको एउटा राम्रो पक्ष हो जस्तो लाग्छ’, परीक्षा भन्छिन् ।

परीक्षा ‘हिमालयन गोल्ड’लाई अग्नीपरीक्षाका रुपमा लिन्नन् । ‘यो फिल्म अग्नीपरीक्षा भन्दा पनि आफूले गर्ने हरेक फिल्मका हरेक पात्रले आफूलाई के दिन्छ र आफूले पनि त्यो पात्रलाई के दिने कोशिस गरिन्छ भन्ने कुरा हो । त्यो पात्रबाट के कुरा सिकिन्छ । कतिपय कुरा सिकिन्छ र अनुमान पनि हुन्छ । कलाकारका रुपमा आफूले कतिको चुनौती लिएर कतिको न्याय दिन सकियो भन्ने कुरा बराबर महत्वपूर्ण नै हुन्छ । अन्तिम नतिजा त दर्शकले फिल्म हेरिसकेपछि नै दिनुहुन्छ । तर मैले चाहिँ आफ्नो तर्फबाट निष्पक्ष रुपमा धेरै मेहनतका साथ काम गरेको छु । र अन्त्यमा के हुन्छ र कसरी त्यो कुरा बाहिर देखिन्छ भन्ने कुरा सबै दर्शकको हातमा नै छ’, उनको बुझाई छ ।

परीक्षा फिल्म हेरिसकेपछि दर्शकले परीक्षा भन्दा पनि सोनाम चरित्रलाई सधैंभरी सम्झिरहुन् भन्ने चाहिन्छन् । ‘फिल्म हेरिसकेर हलबाट बाहिर निस्कदा पछिसम्म पनि सोनाम चरित्र उहाँहरुको मनमा रहिरहोस् । त्यसको कुनै एउटा दृश्य, कुनै एउटा इमोसन पछिसम्म पनि सम्झना आइरहोस् भन्ने चाहन्छु । अनि एउटा कलाकारलाई यो भन्दा ठूलो कुरा केही पनि हुँदैन जस्तो लाग्छ मलाई । त्यसकारण सोनाम चाहिँ दर्शकको मनमा पछिसम्म रही रहोस् भन्ने चाहन्छु’, उनी भन्छिन् ।

परीक्षा आफ्नो कामलाई आफैले मूल्यांकन गर्नुभन्दा पनि दर्शकको मूल्यांकन प्रभावकारी हुने धारणा राख्छिन् । ‘आफूले आफूलाई मूल्यांकन गरेर डिभिजन दिन त गाह्राे नै होला । अहिले नै डिभिजन तोक्नुभन्दा पनि दर्शकको प्रतिक्रिया नै पर्खन चाहन्छु । मैले आफ्नो तर्फबाट राम्रो काम गर्ने प्रयास गरेको छु । सबैजनाले उत्तिकै काममा ध्यान दिनुभएको छ । अब पास भएँ कि भएन, कुन डिभिजन आयो भन्ने कुरा दर्शकलाई छोडिदिन चाहन्छु’, परीक्षाको भनाई छ ।

परीक्षाको बुझाईमा कुनै पनि फिल्म एउटा कलाकारको प्रयासले मात्र बन्ने नभई धेरैजना मान्छेको सपना, मेहनत र विश्वासको जडले बन्ने हो । ‘सबैजनाले आफ्नो तर्फबाट काम गरिसके पछाडि त्यो गएर दर्शकले मनपराइसकेपछि फिल्म सफल हुने हो । पर्दामा कलाकार मात्र देखिए पनि त्यसपछाडि सबैजनाको पहिरन, मेकअप र सबैजनाको उत्तिकै मेहनत हुन्छ । कुनै पनि कलाकारले फिल्मलाई स्थापित गर्न एउटा कलाकारले मात्रै फिल्मलाई स्थापित गर्ने भन्ने हुँदैन । त्यसमा सबैको समान सहयोग हुन्छ । कुनै पनि फिल्मले एउटा कलाकारलाई जिन्दगीभर स्थापित गराइराख्ने भन्ने हुँदैन । प्रत्येक प्रोजेक्टमा कलाकारले आफूलाई प्रमाणित गर्नुपर्छ जस्तो लाग्छ । हरेक फरक पात्रले फरक कुरा खोज्छ । यो फिल्मबाट दर्शकले राम्रो सिनेम्याटिक अनुभव लिउन र नेपाली फिल्ममा पनि धेरै पछाडिको परिवेशमा पनि राम्रो फिल्म बन्छ भन्ने सन्देश जाओस् भन्ने चाहन्छु,’ परीक्षा खुल्छिन् ।