काठमाडौं । आगामी असार २९ गते प्रदर्शनमा आउने लागेको फिल्म ‘बाबु कान्छा’को सार्वजनिक टिजर र ट्रेलरमा नायक सलोन बस्नेतको दुई रुप देख्न सकिन्छ । टिजरमा पहिलो झलकमा फिल्म ‘नेपाली बाबु’को बाल कलाकार सलोनको रुप देखाइएको छ भने दोस्रो झलकमा ‘बाबु कान्छा’ बनेपछिको सलोन देखाइएको छ । टिजर र ट्रेलर सार्वजनिक भएपछि फिल्ममा ‘नेपाली बाबु’को अंश किन राखियो भनेर चर्चा पनि चल्यो ।
यही चर्चाका बीच सलोनले चितवनमा पत्रकारमाझ एउटा फिल्ममा अर्को फिल्मको अंश राख्नुको कारण खुलाएका छन् । सानोमा आफुले धेरै फिल्ममा बाल कलाकारको भूमिका निर्वाह गरेको र त्यही मध्यको ‘नेपाली बाबु’ को बाल कलाकारको छोटो भूमिका राखिएको सलोनले बताए । ‘बाल कलाकारको रुपमा खेल्दाको सलोन र अहिलेको सलोन एउटै भएकोले कसैलाई नझुक्किउन भन्न त्यो छोटो अंश ‘बाबु कान्छा’ मा राखिएको हो,’उनले भने,‘अरु केही कारण छैन ।’
फिल्मका निर्माता, निर्देशक शोभित बस्नेत पत्रकारमाझ उपस्थित हुन नसकेकामा शोभित पुत्र सलोनले माफी मागेका थिए । फिल्मकी नायिका करिश्मा श्रेष्ठले फिल्ममा आफ्नो भूमिका एक सामान्य युवतीको रहेको बताईन । ‘फिल्ममा म एक सामान्य युवतिको रुपमा प्रस्तुत भएकी छु, जो जीवनमा केही गर्न चाहन्छिन’ करिश्माले भनिन् ।
फिल्मका सह निर्माता सरोज घिमिरेले ‘बाबु कान्छा’ राम्रो बनेको र दर्शकहरुले मन पराईदिनुहुनेमा आफु विश्वस्त रहेको बताए । फिल्मका कार्यकारी निर्माता रबी अधिकारीले मल्टीप्लेक्समा फिल्मले राम्रो ब्यापार गर्ने बताए । फिल्ममा सलोन बस्नेत नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, विक्रम कँडेल लगायतको अभिनय रहेको छ । यस फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गरेकी छन् । फिल्ममा रवि अधिकारी कार्यकारी निर्माता छन् ।