काठमाडौं । नायिका तथा मोडल मरिष्का पोखरेलले फिल्म ‘के म तिम्रो होइन र’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरे यता उनी फिल्म क्षेत्रमा सक्रिय छिन् । कहिले सहरीया त कहिले गाउँले चरित्रमा फिल्ममा देखिने मरिष्का यसपटक ‘मिष्टर भर्जिन’मा भने अलिक पृथक भूमिकामा देखिँदैछिन् ।
तीन युवाको यौन मनोविज्ञानको कथा बोकेको यो फिल्ममा उनी ठमेलमा बस्ने युवतीको चरित्रमा देखिँदैछिन् । फिल्मको आइतबार सार्वजनिक टिजरमा मरिष्काले एक दृश्यमा मेडिकल पसलका साहुजीलाई कण्डम मागेको दृश्य देखाइएको छ । यो दृश्यले पनि उनको चरित्र कस्तो छ भन्ने कुरा केही अनुमान लगाउन सकिन्छ । आगामी भाद्र १ गतेबाट प्रदर्शनमा फिल्म प्रदर्शनमा आउँदैछ । टिजरमा फिल्मका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिस्का पोखरेल र लोकेन्द्र आचार्यलाई प्रस्तुत गरिएको छ ।
वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको ब्यानरमा निर्माण भएको फिल्ममा विशारद बस्नेतको निर्देशन छ । फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत र मिलन डी काप्रीको सम्पादन छ । फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् ।