धरान । फिल्म प्रचारको लागि देश दौडाहामा रहेको फिल्म ‘चि मुसी चि’ समूहले पूर्वको धरान र बिर्तामोडमा दर्शक तताएका छन् । ‘डान्स इन्डिया डान्स सिजन ४’बाट चर्चा बटुलेका सुनिल क्षेत्री र एमटिभी स्प्लिटभिल्लामा सहभागी अलिशा शर्माको आकर्षक नृत्यले दर्शकलाई मनोरञ्जन दिलाएका थिए । त्यस्तै अर्का नायक सुशान्त कार्कीले पनि दर्शकलाई नँचाउन पछि परेनन् । यी तिनै कलाकार फिल्ममा प्रमुख भूमिकामा छन् ।
नेपाल आइडलकी टप ५ प्रतियोगी सुजाता पाण्डेले गीतमार्फत दर्शकलाई नँचाइन् । फिल्मका निर्देशक निदेश श्रेष्ठका अनुसार बिर्तामोड, धरानसँगै हरिवन, हेटौँडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाडौं लगायतका स्थानमा फिल्मको प्रमोसन गरिनेछ ।
आगामी साउन ११ गते रिलिज हुने फिल्ममा अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डबबहादुर गुरुङ निर्माता तथा शिवराज कार्की कार्यकारी निर्माता छन् । फिल्ममा अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता छन् ।
सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्यालको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।