काठमाडौं । योग विज्ञान तथा जीवनशैली प्रशिक्षक डा. राजु अधिकारीको नवीनतम कृति ‘जिन्दगी, रिल्याक्स प्लिज !’ सार्वजनिक भयो । राजधानीमा शनिवार आयोजित कार्यक्रममा डा. अरुण उप्रेती, मानवअधिकारकर्मी कृष्ण पहाडी, आर्ट अफ लिभिङका ग्लोबल कोअर्डिनेटर नीरज कोहली र लेखक स्वयंले पुस्तक सार्वजनिक गरे ।
कार्यक्रममा डा. उप्रेतीले मानिसहरुको अप्राकृतिक जीवनशैली र जंकफुड आदिको सेवनबाट विभिन्न रोग लागेको र यसबाट मानिसले वास्तविक सुख एवम् खुसी अनुभव गर्न नपाएको बताइन् । अर्का वक्ता पहाडीले आफू बसेको समाजमै खुसी लुकिरहेको तर त्यसलाई देख्न नसक्दा मानिस भौंतारिइरहेको धारणा राखे । कोहलीले मानिसले ठूलो उपलब्धि हासिल गर्नेभन्दा पनि आन्तरिक खुसी प्राप्तिका लागि आफ्ना क्रियाकलापलाई केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
लेखक अधिकारी स्वान्तसुखाय अर्थात् आफूमा आफैं खुसी हुने चाबीहरु पुस्तकमा प्रस्तुत गरिएको बताए । यसअघि डा. अधिकारीका ‘खाने कसरी पिउने कसरी’, ‘योग पनि गरौं भोग पनि गरौं’, ‘तपाईंका लागि योग’ र ‘यस्तो होस् जीवनशैली’ नामक कृति प्रकाशन भइसकेका छन् । राजुको पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।