दीपकको दुबै हातमा नायिका

काठमाडौं । कुनै पनि काम गर्दा त्यसबाट दोहोरो फल पाएपछि आम मान्छेले बोल्ने बाक्य नै ‘दुबै हातमा लड्डु’ हो । कलाकार दीपकराज गिरीलाई अलिक फरक मामलामा दुवै हातमा लड्डु परेको छ । आगामी दशैंमा रिलिजको तयारीमा रहेको फिल्म ‘छक्का पञ्जा ३’मा दीपकको हातमा ‘लड्डु’ नभई नायिका प्रियंका कार्की र नायिका दीपिका प्रसाई परेका छन् ।

फिल्मको सोमबार सार्वजनिक पहिलो गीत ‘पहिलो नम्बरमा’ को क्लाइमेक्समा उनको एकअर्का हातमा नायिका प्रियंका कार्की र नायिका दीपिका प्रसाई परेको देख्न सकिन्छ ।क्लाइमेक्समा दीपकराज बेहुला तथा दीपिका र प्रियंका बेहुली लुक्समा देखिएका छन् । गीतमा राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत तथा डेबिड शंकर र बिन्दु परियारको स्वर छ ।

कविरा गहतराजले कोरियोग्राफी गरेको गीतमा दीपकराज गिरी, दीपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, संजोग कोइराला, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङ र फिल्मकी निर्देशक दीपाश्री निरौलाले फिचरिङ गरेकी छन् । फिल्ममा शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्टलगायतको अभिनय रहेको छ ।

जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी ‘भान्जा’ र तारा चन्द्र बजगाई ‘निशान’ निर्माता छन् । आमा सरस्वती मुभिजको प्रस्तुति रहेको फिल्मको निर्माणमा आइएमईले पनि सहकार्य गरेको छ ।