घोडामा काजी आउँदा फुरुङ्ग स्वस्तिमा

काठमाडौं । झण्डै चालिस वर्ष अघि नायिका स्वस्तिमा खड्कालाई कोही लक्का जवान घोडामा लिन आउँदा उनको अनुहार कस्तो हुन्थ्यो होला । यो त अनुमान मात्रको विषय हो । तर एक साँझको घटनामा आधारित म्यूजिक भिडियो ‘काजीको घोडा’मा तिनै स्वस्तिमा घोडामा काजी देख्दा चाहिँ फुरुङ्ग परेकी छन् । जंगलको बाटो हिँडिरहेकी युवतीको खुट्टामा ढुंगाले काटेपछि हुने प्राथमिक उपचार र उनलाई लिन आउने काजीको घोडामा आधारित भिडियोमा स्वस्तिमा र भिमफेदी गाईजको अभिनय छ ।

तत्कालिन राजा वीरेन्द्रको समाचार रेडियो नेपालबाट बज्दै गरेको आवाजसहित शुरु हुने भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् । रामचन्द्र थापाको संगीत तथा भुवन शिवाकोटी चौघरेका शब्द रहेको गीतमा रामकृष्ण निरौलाको स्वर रहेको छ । निर्देशक सुवेदीले भिडियोको प्रस्तुतीलाई अलिक फरक शैली दिन खोजेको बताए ।

गीतको भिडियोमा भिमफेदी गाईजले कोरियोग्राफी गरेका छन् भने अनिल के मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन छ । भिडियोमा अतिथी कलाकारको रुपमा जुना सुन्दास र सञ्जु शाह छन् ।