विराटनगरमा म्यूजिक खवर म्यूजिक अवार्ड

काठमाडौं । नेपाल पत्रकार महासँघ मोरङको हलमा सातौं ‘म्यूजिक खवर म्यूजिक अवार्ड’को पत्रकार सम्मेलन गरि उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । विराटनगरमा आगामी असोज १३ गते सम्पन्न हुने उक्त अवार्डको मनोनयन कार्यक्रम विराटनगरमा हामी युवा संस्थाले व्यवस्थापन गरेको हो । सह आयोजकको भूमिकामा रहेको हामी युवा संस्थाले विराटनगरमा अवार्ड सम्पन्न गर्ने संस्थाकी उपाध्यक्ष जीना जंग कार्कीले बताइन् ।

उनले विराटनगर जस्तो इतिहास बोकेको नगरीमा पहिलो पटक अवार्ड हुन लागेकोमा खुसी व्यक्त गर्दै उनले सातौं म्यूजिक खबर म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न गर्ने बताइन् । कार्यक्रममा अवार्डका निर्देशक शान्तिप्रियले अवार्डको इतिहासको बारेमा प्रष्ट पारेका थिए । सदस्यसचिव सन्तोष श्रेष्ठ, सल्लाहकार सुमन दाहाल, पत्रकार महासंघ मोरङका अध्यक्षलगायतले अवार्डका बारेमा बोलेका थिए ।

अवार्डका अध्यक्ष सुमन बैरागीले अवार्डको बारेमा प्रष्ट पार्दै सह आयोजक हामी युवालाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताएका थिए । आयोजक म्युजिक खबर डटकमले प्रदेश नं १ बाट सुरु भएको यो यात्राले प्रदेश नं ७ सम्म अवार्डको आयोजना गरी आगामी वर्षहरुमा पनि आन्तरिक रुपमा सांस्कृतिक पर्यटनलाई प्रबद्र्धन गर्ने लक्ष्य लिएको छ ।

अवार्डमा प्रदेश नं १ लाई विशेष प्राथमिकतामा राखिनेछ भने लाइफटाइम अचिभमेन्ट, दशकका अवार्ड, बाल प्रतिभा प्रोत्साहन सम्मान, संगीत पत्रकारिता सम्मान लगायतका विभिन्न सम्मानहरु पनि अवार्डमा समावेश गरिनेछ । साथै विराटनगरमा हुन गइरहेको यस अवार्डमा राष्ट्रियस्तरका कलाकारहरुको सांगीतिक प्रस्तुतिसमेत रहनेछ । अवार्ड ३३ विधामा प्रदान गरिनेछ ।