केकी भन्छिन्ः ‘नाईं नभन्नू ल एउटा परिवार हो’

काठमाडौं । फिल्म ‘नाईं नभन्नू ल ५’को अन्तिम कलाकार छनौंटका समयमा को कलाकारलाई लिने भन्ने विषयमा निर्देशक विकासराज आचार्य निकै तनावमा थिए । सुटिङमा जाने समयसम्म पनि कलाकार छनौंट नहुँदा उनलाई तनाव हुनु स्वाभविक नै थियो । उनको दिमागमा नायिका केकी अधिकारी रहे पनि त्यो समयमा केकी आफ्नै फिल्म ‘कोहलपुर एक्सप्रेस’को प्रमोसनमा व्यस्त थिइन् । यस्तो समयमा केकीलाई अभिनयका लागि आग्रह गर्न आचार्यको मुख लागेन । तर, टिमकै एक सदस्य कुरा गर्न आग्रह गरेपछि आचार्यले केकीलाई फिल्मको अफर गरे । जुन अफर केकीले सहर्ष स्वीकारिन् ।

आचार्यले पहिलो शृंखलाको ‘नाइँ नभन्नू ल’मा पनि केकीलाई नै अभिनयमा डेब्यु गराउने सोचमा थिए । तर केकीले ‘स्वर’बाट डेब्यु गर्ने निर्णय गरिसकेकी विकासको चाहना अपुरै रह्यो । केकीलाई विकासले तेस्रो शृंखलामा पनि अफर गरेका थिए तर केकी सोही समयमा अर्को फिल्ममा व्यस्त भएका कारण यो फिल्म पनि गर्न पाइनन् । तर केकीका लागि पाँचौं संस्करण पर्खिएरै बसेको रहेछ ।

‘विकास अंकलले पहिलो फिल्मदेखि नै मलाई सम्झने गर्नु भएको थियो । विविध कारणले गर्न पाएको थिइँन । तर फेरि ५ मा काम गर्ने अवसर आयो, मैले एक सेकेन्ड मै हुन्छ भनेकी हुँ । मलाई आफ्नै फिल्म तयार गर्ने प्रेसर थियो त्यसका बावजुद पनि यो पाली चैं नछाडने निर्णय गरे,’ केकीले भनिन् ।

केकी नेपालकै सबैभन्दा चर्चित फ्रेन्चाइजमा काम गर्न पाउँदा खुशी लागेको बताउँछिन् । ‘हाम्रो लागि नाईं नभन्नू ल सिनेमा नभई एउटा परिवार हो । यस्तो चर्चित परिवारको अंग बन्न पाउँदा निश्चय नै एक्साइटेड थिएँ । त्यो एक्साइटमेन्ट रिलिज नजिक आउँदा झनै बढेको छ ,’ केकीको भनाई छ । भदौ ८ बाट प्रदर्शनमा आउन लागेको फिल्ममा केकीका अलावा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, स्वस्तिमा खड्का आदि कलाकारको अभिनय रहेको छ । फिल्म देशभरका सयभन्दा बढी पर्दाबाट रिलिज हुँदैछ ।