काठमाडौं । बदलाको कथामा फिल्म बन्ने क्रम चलिरहँदा शनिवारबाट यही सूचीमा नयाँ नाम ‘कप्टी’ थपिएको छ । भ्याली फिल्म एकेडेमीको प्रस्तुतीमा बन्ने फिल्मको शनिवार राजधानीमा मुहुर्त गरिएको छ ।
भुपेन्द्र गुरुङको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, केशव राई, स्मृति बलामी, सोनी गुरुङ, विकास गुरुङ, बिनु गुरुङलगायतको अभिनय रहनेछ । फिल्मका निर्देशक भुपेन्द्रले आफ्नै पिताका हत्यारासँगको बदला र जीवनसंघर्षलाई फिल्ममा देखाइने बताए ।
सोलुखुम्बुको जुबु र आसपास क्षेत्रमा छायांकन गरिने फिल्ममा प्रेमबहादुर गुरुङ, मिनु लामा र देवकुमार गुरुङको लगानी छ । फिल्ममा मदन घिमिरेको छायांकन, नारायण रायमाझी, मेलिना राई, धर्मेन्द्र सेवान, टिका पुन र तारा सिरिस मगरको स्वर रहनेछ ।