काठमाडौं । गत शुक्रबारबाट सोलो प्रदर्शनमा आएको फिल्म ‘निर्जला’मा दर्शकको उपस्थिति उल्लेख्य रहेको निर्माण पक्षले दाबी गरेको छ । फिल्मका निर्माता प्रकाशचन्द्र न्यौपानेले फिल्मले प्रदर्शनको पहिलो दिन शुक्रबार देशभरका हलमा औसत र शनिबार हाउसफूल व्यापार गरेको बताए ।
फिल्मका निर्देशक राजु गिरीका अनुसार कतिपय दर्शक फिल्म हेरेपछि रुँदै निस्केका थिए । ‘हलबाट दर्शक रुँदै निस्किएको भेट्यौं,’ निर्देशक गिरीले भने, ‘हामीले सोचेको भन्दा राम्रो व्यापार र प्रतिक्रिया छ ।’
फिल्मको रिपोर्ट बुझ्न शनिबार निर्माता प्रकाशचन्द्र, निर्देशक राजु, अभिनेता किशोर खतिवडा, अभिनेत्री शुभेच्छा थापालगायतको समूह राजधानीका हलहरुमा पुगेका थिए । ‘दर्शकको प्रतिक्रिया र ब्यापार प्रति निकै खुशी लागेको छ,’ यही फिल्मबाट फिल्म निर्माण सुरु गरेका प्रकाशचन्द्रले भने,‘दर्शकले फिल्म एक्दमै मन पराएका छन् । ब्यापार निकै राम्रो भइरहेको छ । यो फिल्मबाट पाएको खुशीले अर्काे फिल्म निर्माण गर्ने हौसला मिलेको छ ।’ फिल्ममा समाबेश दशै गीत, भाले मोटर र शीर्ष गीत दर्शकले औधि मन पराएको उनले बताए ।
दशैको अबसर पारेर प्रदर्शन गरिएको फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा, निक्स शर्मा, श्याम राई, सुरवीर पण्डित, राजकुमार थापा, पल्पसा डंगोल, रश्मी भट्ट, प्रकाशचन्द्र न्यौपाने तथा बालकलाकार काजोल गिरीलगायतका कलाकारले अभिनय गरेका छन् ।
रबि कोइरालाले खिचेको फिल्म तारा थापा किम्भले सम्पादन गरेका हुन । फिल्मका गीतमा बाबुल गिरीको संगीत र स्वर रहेको छ ।