सडक र भिडियोमा स्वस्तिमाको खुद्राखुद्री

काठमाडौं । नायिका स्वस्तिमा खड्का र नवनायक मुकुन भुसालले फिचरिङ गरेको फिल्म ‘बुलबुल’को गीत ‘खुद्राखुद्री’ सार्वजनिक भएको छ । सामान्यतया फिल्मकर्मीले युट्युब वा कुनै सार्वजनिक कार्यक्रम गरेर गीत सार्वजनिक गर्ने चलन चलिरहँदा फिल्म ‘बुलबुल’ले चाििहँ फ्ल्यास मोब शैलीमा गीत सार्वजनिक गरेको हो । भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्नुलाई फ्ल्यास मोब शैली भनिन्छ ।

फिल्म निर्माण युनिटले काठमाडौको काठमाडौं मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्सबाट बिहीबार एक साथ फ्ल्यास मोब शैलीमा गीत रिलिज गरेको हो । यी स्थानमा कलाकारले नृत्य गरिरहँदा भिडियो युट्युबमा पनि सार्वजनिक गरिएको थियो ।

काठमान्डौ मलमा अभिनेत्री स्वस्तिमा खड्कासहितको टोलीले गीतमा नृत्य गरेका थिए । फिल्ममा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा छिन । गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका हुन् र यसलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् । भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र सय कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा झन्डै १८ लाख खर्च भएको निर्माण पक्षले बताएको छ ।

विनोद पौडेलको निर्देशनमा तयार भएको फिल्ममा स्वस्तिमा र मुकुनसँगै बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । विनोद पौडलकै पटकथा रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । अबिरल थापा, भिम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले संयुक्त रुपमा निर्माण गरेको फिल्मको रामराजा दाहाला कार्यकारी निर्माता हुन् । फिल्ममा सम्पादन अनिमेष सापकोटाको रहेको छ । फिल्म फागुन ३ बाट देशभर प्रदर्शन हुँदैछ ।