काठमाडौं । आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमलीला’ले प्रमोसनको लागि नयाँ शैली अपनाएको छ । फिल्म युनिटले ‘तक्लु ब्युटी कन्टेस्ट’मार्फत प्रमोशनको नयाँ शैली अपनाउन लागेको हो । फिल्मकी शीर्ष कलाकार तथा निर्मात्री दिपशिखा खड्का फिल्मको पोष्टरमा मुण्डन रुपमा प्रस्तुत भएपछि फिल्म युनिटले यो कन्टेष्टको अवधारणा ल्याएको हो ।
दीपशिखाले मानिसलाई उसको बाहिरी रुप हेरेर नभई मन हेरेर सुन्दर या कुरूप छुट्याउन सकिने भएकाले नयाँ प्रमोसन योजना ल्याएको खुलाइन् । ‘महिलाका लागि कपाल प्यारो छ । कपाल हुँदा र नहुँदा उसको बाहिरी सुन्दरतामा धेरै असर पर्छ । हामीले पनि बाहिरी सुन्दरतालाई नै महत्व दिएका छौँ । मैले पनि म तक्लु बन्दाको फरक पन र मानिसले महिलाको सुन्दरता हेर्ने नजरको महसुस गरेकी छु’, उनले भनिन्, ‘त्यो अनुभव सबैसँग साट्नका लागि ’तक्लु ब्युटी कन्टेस्ट’ आयोजना गर्न लागेको हौं ।’
प्रतियोगितामा महिलाहरु मात्र सहभागी हुन सक्नेछन् । सहभागिताका लागि फिल्मको अफिसियल फेसबुक पेज (प्रेम लीलामा लाइक गरी आफ्नो कन्ट्याक्ट डिटेल्ससहित तक्लु मेकअप गरेको फोटो पठाउनु पर्ने छ । प्राप्त फोटोहरुलाई संकलन गरेर उत्कृष्ट १० फोटो छानेर अन्तिम प्रतिस्पर्धा गराइनेछ । अन्तिम १० लाई निर्णायक तहमा लगेर निर्णायकको निर्णय अनुसार प्रथम हुनेलाई ५० हजार, दोश्रो हुनेलाई २५ हजार र तेश्रो हुनेलाई १० हजार नगद पुरस्कार दिइनेछ ।
दीपशिखा खड्काकै कथा रहेको फिल्ममा इण्डो नेपाल लभ स्टोरी समेटिएको छ । फिल्ममा खड्कासंगै भारतीय मोडल अलि खान मुख्य भूमिकामा रहेका छन् ।
उनको यो डेब्यु नेपाली फिल्म हो । फिल्ममा निर्देशन जनक पाण्डेको रहेको छ भने छायांकन पवन गौतमले गरेका हुन् । फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ । फिल्ममा दीपशिखा र अलीसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ ।