अष्ट्रेलियाका सहरमा जात्रै जात्रा

काठमाडौं । हाल छायांकनरत फिल्म ‘जात्रै जात्रा’ अष्ट्रेलियाका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ । फिल्म छायांकनमा जानु अघि सार्वजनिक टिजरमा दर्शकको चासो बढेको भन्दै अष्ट्रेलियामा रहेको होर होइन होला इभेन्ट र पप अप इन्टरटेन्मेन्टले ‘जात्रै जात्रा’लाई अष्ट्रेलियामा प्रदर्शनको अधिकार लिएको हो ।

आयोजकमध्येका एक चिरन श्रेष्ठले फिल्मको अष्ट्रेलियामा प्रर्दशन गर्नका लागि ३५ लाख रुपैँयामा सम्झौता भएको दाबी गरे । ‘पहिलो संस्करण ‘जात्रै जात्रा’ले दर्शकको मन जितेको थियो । ‘जात्रै जात्रा’ को टिजरले पनि सकारात्मक प्रतिक्रिया पाएकाले फिल्म प्रदर्शनका लागि ३५ लाख रुपैयाँ लगानी गरेका हौं ।’

निर्देशक प्रदिप भट्टराईले ब्राण्डहरुसंगको सहकार्य र विदेश राईटको बिक्री आँकलन गर्दा हेर्दा छायांकन नसकिँदै फिल्म नाफामा जाने सम्भावना देखिएको बताए । निर्देशक भट्टराईको अघिल्लो फिल्म ‘जात्रा’ले अष्ट्रेलियामा राम्रो दर्शक पाएको थियो भने पछिल्लो फिल्म ‘शत्रु गते’ले सिड्नीमा १७ शो र अष्ट्रेलियाभर ४० भन्दा बढी शोमा उत्साहजनक व्यापार गरेको थियो ।

षट्कोण आर्टस्को ब्यानरमा निर्मित फिल्ममा विपिन कार्की, रविन्द्र झा, रविन्द्रसिंह बानियाँ, वर्षा राउतलगायतको अभिनय छ । फिल्म फागुन १७ गतेबाट प्रदर्शनमा आउँदैछ ।