ट्रिप कि लाइसेन्सः कता जालिन् स्वस्तिमा ?

काठमाडौं । नायिका स्वस्तिमा खडकालाई टेम्पो ड्राईभर रुपमा प्रस्तुत गरिएको फिल्म ‘बुलबुल’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा यात्रुका कारण लाइसेन्स गुमाएकी स्वस्तिमा लाइसेन्स लिन जाने या ट्रिपमा जाने भन्ने दोधारमा छिन् । यातायातमा ट्रिप भन्नाले यात्रु ओसार्ने कामलाई बुझिन्छ ।

४५ दिन अघि बाटोमा नायकनायिकालाई नचाएर गीत सार्वजनिक गरेको फिल्म युनिटले फिल्मका अर्का पात्र मुकुन भुषाल र स्वस्तिमालाई मात्र प्रस्तुत गरेका टिजर सार्वजनिक गरेको हो । चुलबुले स्वस्तिमालाई टिजरमा आम टेम्पो चालक युवतीको जस्तै देखिएको छ ।

आगामी फागुन ३ गते भ्यालेन्टाइनको छेको पारेर प्रदर्शनमा आउने फिल्मको ‘खुद्राखाद्री मायाले’ बोलको गीतले चर्चा पाइरहेको छ । फिल्मका निर्देशक विनोद पोडेलले पटकपटक फिल्ममार्फत स्वस्तिमाको अभिनयमा नयाँ अवतार देखिने र फिल्म उद्योगले एक सशक्त नवनायक पनि पाउने दावी गरे ।

निर्माता अविरल थापाले अब हरेक १० दिनको अन्तरालमा रोचक र अनौठा प्रचार सामग्रीहरू सार्वजनिक गर्दै जाने बताए । फिल्मका कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने छायांकन सुसन प्रजापतिले गरेका छन् ।  फिल्ममा बुद्धि तामाङ, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्जवल अधिकारी, सृष्टि भट्टराईको अभिनय छ । फिल्मको संगीत कोशिस क्षेत्री र उदगम परियारले दिएका छन् भने स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ ।