मुम्बई(एजेन्सी) । बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘जीरो’ आगामी डिसेम्बर २१ बाट रिलिज हुँदैछ । आनन्द एल राय निर्देशित यो फिल्म शाहरुख खानको हालसम्मकै सबैभन्दा अनौठो फिल्म हो । अनौठो यस अर्थमा कि यो फिल्ममा उनी होचो व्यक्तिको भूमिकामा छन् । फिल्मको ट्रेलरबाट राम्रो प्रतिक्रिया शाहरुखले पाइरहेका छन् । फिल्म रिलिज पछिको पहिलो हप्ताको कमाईले फिल्म दर्शकलाई कस्तो लाग्यो भन्ने देखाउनेछ ।
फिल्म क्रिसमस विकको मौकामा रिलिज हुँदैछ । बलिउड फिल्मकर्मीहरु यो फिल्म हिट हुन्छ या शाहरुखकै अघिल्ला फिल्म ‘रइस’, ‘फैन’ र ‘जब हैरी मेट सेजल’ जस्ता फ्लप फिल्मको रुपमा स्थापित हुन्छ भन्ने चर्चा शुरु गर्न थालेका छन् ।
‘यदि फिल्म बक्स अफिसमा चलेन भने सायद आगामी केही महिना म बेरोजगार हुनेछ’, शाहरुखले भनेका छन्, ‘म कुनै पनि अवस्थालाई परिवर्तन गर्न त सक्दिनँ । आम मानिस शाहरुखको लागि जीरो महत्वपूर्ण ठान्छन् भने त्यो उनीहरुको भावना हो । भगवान यस्तो काम नगरुन् कि मेरो फिल्म फ्लप होस् । यस्तो भएमा आगामी ६ देखि १० महिनासम्म बेरोजगार हुनेछु ।’ यो फिल्ममा कटरीना कैफ र अनुष्का शर्माको पनि अभिनय छ । फिल्मका व्यापार विश्लेषकले फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्नेमा आशावादी छन् ।