लक्ष्मणलाई विष्णुभक्त रंगकर्म पुरस्कार

काठमाडौं । नाटक ‘महर्षि यज्ञकल्क्य’ मा राजा जनकको भूमिकामा अभियन गर्दा गर्दै निधन हुनु भएका वरिष्ठ रंगकर्मी विष्णुभक्त फुयालको नामबाट स्थापना गरिएको विष्णुभक्त रङ्गकर्म पुरस्कारबाट कलाकार लक्ष्मण विक्रम बस्नेत सम्मानित भएका छन् ।

फुँयालको स्मृतिमा आयोजना गरिएका कार्यक्रममा बस्नेतलाई नगद १५ हजार राशी सहितको सो पुरस्कार ‘विष्णुभक्त–तारादेवी स्मृति गुठी’ले प्रदान गरेको हो । लामो सयमदेखि विष्णुभक्त फुँयालसँग अभिनय गर्दै आइहेका बस्नेतले विष्णुभक्त फुँयालसँग २०४७ सालदेखि कलायात्रा शुरु गरेका थिए ।

विष्णुभक्तसँग अभिनय गरेको अन्तिम नाटक अमर मातृत्व थियो । साढे तीन दशकदेखि रंगकर्म तथा अभिनयमा सक्रिय बस्नेतलाई अभियन क्षेत्रमा उनले पु¥याएको योगदानलाई कदर गर्दै पुरस्कृत गरिएको छनौट समितिको संयोजक रंगकर्मी तथा कुसुम नाट्य समूहका संस्थापक अध्यक्ष वैकुण्ठ भण्डारीले बताए । २०७३ साल पौष १९ गते सांस्कृतिक संस्थानद्धारा आयोजित नाटक ‘महर्षि यज्ञकल्क्य’ मा अभियन गर्दा गर्दै फुयाँलको निधन भएको थियो ।

करीव ६ दशकभन्दा बढी समय नेपाली रंगक्षेत्रमा व्यतित गरेका कलाकार विष्णुभक्त फुयालले रमेश विकलको उपन्यासमा आधारित टेलिचलचित्र ‘अविरल बग्दछ इन्द्रावती’ मा गम्भीरे माझीको भूमिकामा २०५३ सालमा गरेको अभिनयले चर्चामा आएका थिए । गम्भीरे माझीको भूमिका मै चर्चा कमाईरहेका फुयाल त्यसबाल हाँस्य टेलिचलचित्र ‘तितो सत्य’को ओ माई लभ को अभिनयले अझै चर्चित तुल्याएको थियो ।