काठमाडौं । आगामी माघ ४ गतेबाट प्रदर्शन हुने फिल्म ‘गरुड पुराण’मा अभिनेता कर्मा शाक्यलाई दर्शकले दुई फरक भूमिकामा हेर्न पाउने भएका छन् । नायकको रुपमा युवा भूमिका निर्वाह गरेका उनी अधवैशे भूमिका पनि देखिनेछन् ।
फिल्मका निर्देशक सुवास कोइरालाले फिल्ममा कर्मा २५ वर्षे तन्नेरी भूमिकामा देखिने बताए । ‘यो भूमिका अनुसार उनी प्रेमीको भूमिकामा छन् । यिनै कर्माले यो फिल्ममा ६० वर्षको भूमिका पनि निर्वाह गरेका छन्’, उनले भने, ‘यो भूमिका निर्वाह गर्न उनलाई निकै गाह्रो परेको थियो । उनले दुबै भूमिकामा न्याय गरेका छन् ।
फिल्ममा कर्मासँगै नाजिर हुसेन, प्रविण खतिवडा, कामेश्वर चौरासिया, लुनिभा तुलाधर, प्रियंका सिंह, कमल देवकोटासहितको अभिनय छ । आकाश बराल, विनोद खतिवडा र सुवासले लेखेको फिल्मको कथा कसम नेपालले तयार गरेका हुन् । फिल्ममा निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । फिल्ममा सुसन प्रजापतिको छायाँकन, कोसिस क्षत्रीको संगीत, उज्ज्वल ढकालको सम्पादन रहेको छ ।