‘क्यान्सर युद्ध जितेपछि म उत्कृष्ट कलाकार’

मुम्बई(एजेन्सी) । क्यान्सरका विरुद्ध आफ्नो युद्धका विषयमा लेख्नेदेखि लिएर आफ्नो प्रेरक वार्ताका साथ कैयौं जिन्दगीलाई प्रेरित गर्ने ‘सञ्जू’ वा ‘लस्ट स्टोरीज’जस्ता फिल्ममा काम गरिसकेकी बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले आफैलाई लेखनमा व्यस्त बनाएका थिइन् । हालै मात्र क्यान्सर पछिको अवस्थालाई चित्रण गर्दै लेखिएको पुस्तक ‘हिल्ड’ लिएर पाठकमाझ आएकी मनिषाले क्यान्सरको लडाइँले आफूलाई उत्कृष्ट कलाकार बनाएको बताएकी छन् ।

‘म अब हरेक चिजलाई धेरै दिमाग लगाउन थालीसकेको छु । मैले जिन्दगीको अनुभव लिइसकें । त्यसकारण म भन्छु कि क्यान्सरको युद्ध जितेपछि म उत्कृष्ट कलाकार भएकी छु’, उनले भनेकी छन्, ‘मलाई थाहा छ कि हालका दिनमा जब म कुनै नयाँ कथा सुन्छु या भूमिकाका बारेमा पढ्छु । त्यो बेला म त्यसको गहिराईमा पुग्दछु । म मेरो भूमिकालाई आफ्नो दिमागसँग जोड्ने प्रयास गर्दछु ।’

मनिषाले गत मंगलबार बेलुका यहाँको पेन्गुइन रेण्डम हाउसद्वारा प्रकाशित आफ्नो पहिलो पुस्तक ‘हील्डः हाउ केन्सर गिव मी ए न्यू लाइफ’को विमोचन गरेकी थिइन् । ‘अहिले जब म कथामा हेर्छु । त्यो बेला म आफ्नो भूमिकालाई लामो देख्दिनँ । अहिले म मेरो भूमिका के गरिरहेको छ त्यो मात्र हेर्दछु । मेरो सट पाँच दृश्यको छ भने पनि मलाई केही फरक पर्दैन । मनिषा सन् २०१२ मा अण्डाशय क्यान्सरबाट मुक्त भएकी थिइन् ।