काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्माला पन्तको बलत्कार पछि हत्या भएको लामो समय बितिसक्यो । उनलाई न्यायको माग गर्दै अझै पनि आन्दोलन भइरहेका छन् । यही विषयलाई लिएर कथात्मक रूपमा फिल्म ‘कोपिला’ निर्माण गरिएको छ ।
महिना दिन अघि छायांकन सुरु भएको फिल्मको सोमबार चितवनमा इन्डक्ल्याप गरिएको छ । शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्म करिब ८० लाख रुपैयाको लागतमा निर्माण भएको हो । निर्देशक अधिकारीले फिल्मले स्व पन्तको बलात्कार र हत्या पछि सिर्जित सामाजिक स्थिति र हालसम्मको अवस्थामा आईपुग्दासम्मको चित्रण गरेको बताए । उनका अनुसार फिल्म निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति समावेश छ ।
फिल्मको प्रमुख पात्र निर्मला अर्थात ‘कोपिला’को भुमिकामा संजीवनी खरेल छिन् । फिल्ममा सञ्चारकर्र्मी मणिराज गौतम र करुणाकर घिमिरे निर्माता तथा कलाकार गणेश गिरी प्रस्तुतकर्ता छन् । फिल्मको कार्यकारी निर्मातामा सुबासराज काफ्ले, सह–निर्माताहरुमा सम्पादक तथा एनिमेटर समिर मियाँ र छायाँकार रामेश्वर कार्की छन् ।
फिल्ममा सरिता गिरि, गणेश गिरि, ऋद्धिचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेललगायतको अभिनय छ । फिल्ममा शिवशरण न्यौपानेको छायांकन र दीपक शर्माको संगीत छ ।,