सलमानलाई सुटिङ सेटमै जिम सुविधा

मुम्बई(एजेन्सी) । बलिउडका दबंगका रुपमा परिचित सलमान खान फिटनेसमा अपडेट छन् । ५३ वर्षको उमेरमा पनि उनी निकै फिट देखिन्छन् । उनी आफ्नो स्वास्थ्यको निकै ख्याल गर्छन् । त्यसकारण पनि उनी दैनिक रुपमा जिममा वर्कआउट गरिरहन्छन् ।

समाचार अनुसार सलमानले फिल्म ‘भारत’को सेटमै पनि जिम बनाएका छन् । उनले आफ्नो सुटिङ भइरहँदा कुनै समस्या नआओस् भन्नका लागि जिम बनाएका हुन् । सलमानले आफ्नो व्यस्त समय तालिकाका कारण पनि यो कदम चालेको बताइएको छ ।

फिल्मका निर्माता अतुल अग्निहोत्री र निखिल नामितले सलमानका लागि सिक्रेट जिम बनाएका हुन् । फिल्म ‘भारत’को सेटमा बनाइएको यो जिम १० हजार स्क्वायर फिटमा फैलिएको छ ।

सलमान दैनिक रुपमा जिम गर्नकै लागि गोरेगाँवबाट बान्द्रासम्म यात्रा गर्न चाहँदैनन् । त्यहीकारण पनि उनलाई सेटमै जिम बनाइएको हो । सलमानलाई दर्शकले ‘भारत’मा ५ अलग–अलग लुक्समा देख्न पाउनेछन् । यो फिल्म कोरियन फिल्म ‘ओड टू माई फादर’को रिमेक हो ।

फिल्ममा कटरीना कैफ सलमानको अपोजिटमा छिन् । यी दुईबाहेक सुनील ग्रोवर, दिशा पाटनी, तब्बू, जैकी श्राफ र नोरा फतेहीको पनि अभिनय छ । फिल्म सन् २०१९ को इदमा रिलिज हुनेछ ।