मृगौलापीडितलाई दीपा, जितु र ताराको सहयोग

काठमाडौं । कलाकार जितु नेपाल ‘मुन्द्रे’, कलाकार तथा निर्देशक दीपाश्री निरौला र संगीतकार तथा गायक ताराप्रकाश लिम्बुले सिन्धुपाल्चोक घर भएका एक मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन् । घरजग्गाबिहिन २२ वर्षे आशिष धमलालाई जितुले व्यक्तिगत २५ हजार रुपैंयाँ, निर्देशक तथा अभिनेत्री दीपाश्रीले १० हजार रुपैंयाँ तथा गायक र संगीतकार ताराप्रकाशले पाँच हजार रुपैंयाँ सहयोग गरेका हुन् ।

शुक्रबार जितु नेपाल र दीपाश्री निरौलाले उक्त रकम प्रदान गरेको हो । युवा अवस्थामा दुवै मृगौला फेल भएको कारण बचाउनको लागि धमलाले सहयोगको याचना गरेका थिए । उनको अवस्था देखेर आफूहरुले सानो रकम सहयोग गरेको कलाकार जितुले बताए ।

आशिषका बुवा हाल वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा सेक्युरिटी गार्डमा काम गर्दै आएका छन् । यस अघि जितु नेपाल सहित छक्का पञ्जा टिमले एक मृगौला पीडित जयबहादुरलाई ७५ हजार सहयोग रकम प्रदान गरेका थिए ।