अष्ट्रेलियाको परोपकारी डिनरमा स्वेता

काठमाडौं । नायिका तथा निर्मात्री स्वेता खड्का अष्ट्रेलियामा हुन लागेको परोपकारी डिनरमा सहभागिता जनाउने भएकी छन् । गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको आयोजना, बाबा एजुकेसन कन्सल्टेन्सी र आरकेएस अस्ट्रेलियाको मुख्य प्रायोजनमा हुन लागेको परोपकारी गाला डिनरमा स्वेतासँगै नेपाल विद्युत प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङ र एसएसडीआरसी स्कुलकी संस्थापक सबिता उप्रेती पनि डिनरमा सहभागी हुँदैछन् ।

कुलमानले नेपाललाई लोडसेडिङ मुक्त बनाउन प्रमुख भूमिका निर्वाह गरेका छन् । त्यस्तै स्वेताले सिन्धुपाल्चोकमा माझी बस्तीका लागि ५३ घर निर्माण गरेकी छिन् । सविताले एसएसडीआरसीमार्फत अपाङ्ग बालबालिकाहरुलाई सेवा गर्दै आएकी छन् ।

सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा यही मे २६ का दिन च्यारिटी गाला डिनर हुने भएको हो । कार्यक्रमबाट उठेको रकमको आधा हिस्सा नेपालमा अपाङ्गता भएका बालबालिकाको विद्यालयलाई सहयोग गरिने र बाँकी रकम गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको समाज कल्याण कोषमा जम्मा गरिने छ । उक्त गाला डिनर को टिकट मुल्य ७० र १ सय डलर राखिएको छ भने विद्यार्थी लाई केहि सहुलियत हुने आयोजकले जनाएको छ ।

एनआरएनए न्यु साउथ वेल्सका संयोजक नन्द गुरुङले भने तीन व्यक्तिको जीवन–संघर्ष र लगनशीलताका पाटाहरू सबैका लागि प्रेरणादायक बन्ने बताए । बिगतदेखि नै अस्ट्रेलियामा हुने अधिकांश कार्यक्रमहरुमा मुख्य प्रायोजकको रूपमा सहयोग पुराउदै आएको बाबा एजुकेसन कन्सल्ट्यान्सी र आर के एस अस्ट्रेलियाका संचालक रविन्द्रकुमार शर्माले परोपकारी काममा आफ्नो संस्था सक्रिय हुने बताए ।