काठमाडौं । फिल्म ‘प्रेम गीत’को प्रिक्वेल ‘प्रेम गीत ३’मा प्रेमको जोडीका रुपमा अमेरिका बस्दै आएकी क्रिस्टिना गुरुङ फाइनल भएकी छन् । फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार अभिनेत्री चयनको तीन महिना लामो प्रक्रिया पछि क्रिस्टिना फिल्ममा चयन भएकी हुन् ।
फिल्मको नायिकाको लागि आह्वान गरिएको अडिसनमा देश बिदेशबाट २७ सय १४ जनाले तस्बिर पठाएका थिए । जसबाट उत्कृष्ट २५ को चयन दुई महिना अघि नै गरिएको थियो । ती २५ जनाबाट अडिसिन लिएर उत्कृष्ट ५ चयन गरिएको र त्यो उत्कृष्ट ५ बाट आईतबार क्रिस्टिनालाई नायिकामा चयन गरिएको निर्माता निर्देशक सेनले बताएका छन् ।
अहिले छायाँकन अघि नै दर्शकको पर्खाईको फिल्म बनेको प्रेम गीत ३ का निर्माता सन्तोष सेनले नायिका चयन बारे भने,‘हामिहरुका लागि सबै उत्कृष्ट हुनुहुन्थ्यो, तर पनि एकजना उत्कृष्ट चयन गर्नु पर्ने भएकाले क्रिस्टनालाई गीत पात्रका लागि छानेका हौं । अडिसनमा सहभागी हुनु भएकोमा सबैलाई सन्तोषले धन्यवाद ज्ञापन गर्दै भने, ‘अडिसनमा छानिएका उत्कृष्ट टप २५ लगायत अडिसनमा सहभागीहुनुभएका सबैलाई हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद् ।’
आशुसेन फिल्म्सका निर्देशकद्धय छेतेन गुरुङ र सन्तोष सेनले उनको नाम सार्वजनिक गर्दा उनी साह्रै खुसी देखिईन् । अभिनेता प्रदीप खड्कासँग जोडी बनेर काम गर्न पाउँदा आफुलाई उनले भाग्यमानी महसुस गरेकी छिन् । अमेरीकाबाट अडिसनमा सहभागीहुनकै लागि नेपाल आएकी क्रिष्टिनाले २७ सय १४ जना प्रतिस्पर्धीलाई उछिन्दै चलचित्रमाकाम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेकी छिन् । यो फिल्ममा चयन भएपछि अब फिल्मको तयारीमा जुट्ने भएकी छिन् । क्रिस्टिना काठमाडौंकी युवती हुन् । उनी लामो समयदेखि अमेरिकामा बस्दै आएकी छिन् । चलचित्र प्रेम गीत ३ मा अब अभिनेता प्रदीप खड्कासँगै नव अभिनेत्री कृष्टिना गुरुङ, अभिनेता शिव श्रेष्ठ, खल अभिनेता सुनील थापा, नव अभिनेता मनिष राउत, अनुभव रेग्मीर, सन्तोष सेन, पुष्कर कार्की, प्रेम पुरीसहितको मुख्य भूमिका रहने भएको छ ।
यसैबीच चलचित्र प्रेम गीत ३ का मुख्य नायक प्रदीप खड्काले आफ्नो जोडीको रुपमा चयन भएकी नायिका कृष्टिनालाई यो चलचित्रमा नायिकाको रुपमा चयन भएकोमा बधाई दिएका छन् । राम्रो नायिका चयन भएकोमा प्रदीप पनि खुसी छन् । अब एक कार्यक्रमबीच यो चलचित्रको निर्माण घोषणासँगै फिल्मको वर्कसप पनि सुरु गर्ने निर्देशक सेनले बताएका छन् । आगामी २८ चैतमा देशव्यापी सिनेमा हलमा रिलिज हुने यो चलचित्रको आउँदो दशैंपछिबाट छायाँकन सुरु हुने भएको छ ।