मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान हालको समयमा बलिउडका सबैभन्दा ठूला स्टार हुन् भन्ने कुरामा कुनै सन्देह नै छैन । उनको जस्तो क्रेज र फ्यान फलोइङ सायदै त अन्य कोहीको पनि छैन । सलमानले हालैमात्र बलिउडमा ३० वर्ष यात्रा पुरा गरेका छन् ।
यो अवधिमा सुपरहिट फिल्ममा काम गर्नु र यति धेरै फ्यान फलोइङ बनाउनु सलमानका लागि सजिलो कुरा थिएन । उनको करियरमा उतारचढाव प्रायशः आइरहन्छ । तर उनलाई खराब समयमा पनि प्mयानको भरपुर साथ मिल्दै आएको छ । हालै एक अन्तरवार्तामा उनले आफ्ना फ्यानसँगको बोन्डिङका विषयमा कुराकानी गरेका थिए ।
‘एक स्टार र फ्यानका बीचमा एक बोन्ड हुन्छ । मैने प्यार कियाको समयदेखि नै फ्यानका साथ म खास किसिमको लगाव शेयर गर्दै आएको छु । म फिल्ममा काम गरुँ या नगरुँ मेरा फ्यान जहिल्यै पनि यो कुरालाई मनपराउँछन् । आफ्नो करियरको दौरान एक अभिनेताका रुपमा जुन किसिमको उचाई मैले पाएको छु, त्यसबाट खुशी छु ।’ सलमानले भनेका छन्, ‘यो उद्योगमा काम गरेको ३० वर्ष पुगेको छ । पहिला मलाई सल्लु सलमान, बन्टाई जस्ता नाम दिन्थे । आजकल मलाई भाई या भाइजान भन्छन् । मलाई यो सम्मान पाउन निकै समय लाग्यो ।’
सलमान खान यतिबेला प्रभु देवाको फिल्म ‘दबङ ३’को सुटिङमा व्यस्त छन् । यसका अलावा उनी साजिद नाडियाडवालाको फिल्म ‘किक २’मा पनि देखिनेछन् ।