मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सञ्जय दत्त र अरशद वारसीको जोडीलाई लामो समयदेखि दर्शकले मिस गरिरहेका छन् । सञ्जय र अरशदको जोडी सन् २००३ मा कमेडी फिल्म ‘मुन्ना भाई एमबीबीएस’मा सुपरहिट भएको थियो । यो फिल्मको सिक्वेल ‘लगे रहो मुन्नाभाई’ सन् २००६ मा रिलिज भएको थियो । अब पुनः एकपटक यो जोडी फेरी सँगै दर्शकमाझ आउने भएको छ ।
अरशदले हालै एक अन्तरवार्तामा आगामी फिल्मको हिन्ट्स दिएका छन् । ‘यो फिल्ममा सञ्जय दत्त एक दिव्यांग डनको भूमिकामा हुनेछ । जसका म एक मार्गदर्शकको भूमिकामा हुनेछु । यो कथामा एउटा ट्वीस्ट के हुनेछ भने कसैले पनि सञ्जय दिव्यांग डन हुन्छन् भन्ने थाहा हुँदैन । हामी लामो समयपछि पुनः दर्शकमाझ आउँदैछौं’, अरशदले भनेका छन्, ‘फिल्मको स्क्रिप्ट निकै राम्रो छ । फिल्मको छायांकन आगामी वर्षको मार्च वा अप्रिलबाट सुरु हुनेछ । सुटिङका लागि हामी बुढापेस्ट जाने सम्भावना छ ।’
केही समय अघि अरशदले नै ‘मुन्ना भाई एमबीबीएस’को सिक्वेल बन्ने हिन्ट दिएका थिए । ‘राजकुमार हिरानी मुन्ना र सर्किटको दोस्तीयारीको सिक्व्ेलमा काम गरिरहेका छन् । उहाँ धेरै अघि नै सिक्वेल बनाउने योजनामा हुनुहुन्थ्यो । तर सञ्जय कानूनी समस्या सुल्झाउनमा लागेकाले त्यो सम्भव भएन ।’