सिर्जनाको घरजमलाई सकारात्मक प्रतिक्रिया

काठमाडौं । फिल्म ‘घरजम’को काठमाडौंमा प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मूभिजमा बिहीबार एकैसाथ दुई वटा पर्दामा गरिएको प्रिमियर शोमा १५ सयभन्दा बढी दर्शकको उपस्थिति थियो । शोमा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, फिल्म निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, आदिवासी फिल्म महासंघका अध्यक्ष अमृता सुनुवारलगायतको उपस्थिति थियो ।

मौसम ईम्बुङ लिम्बुद्वारा निर्र्देशित फिल्म ‘घरजम’को यसअघि पुर्वका विभिन्न सिनेमा प्रिमियर शो गरिएको थियो । राजधानीमा भने पहिलोपटक शो गरिएको हो । ‘घरजम’ हेरेपछि दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए । ‘फिल्म धेरै राम्रो बनेको रहेछ’ गायक दिवश पयाँगूले भने, ‘कल्चरल भनिएपनि व्यवसायी फिल्मभन्दा कम छैन ।’ प्रिमियरपछि व्यवस्थापक तथा फिल्म प्रदर्शन संयोजक शैलेन्द्र थेबेले राजधानीका दर्शकले पनि ‘घरजम’ रुचाएको बताए । उनले भने, ‘पुर्वमा जसरी फिल्म रुचाइएको थियो, यहाँ पनि रुचाइएको छ ।’ उनले एकैसाथ दुई वटा हलमा प्रिमियर गर्नु आफैमा सुखद भएको बताए ।

‘घरजम’मा पुर्वी नेपालको लिम्बू सदमुदाय तथा त्यहाँको जनजीवनलाई जस्तको तस्तै समेटिएको छ । फिल्ममा सिर्जना सुब्बा, बुद्धि तामाङ, यासेली योङहाङ, शैलेन्द्र थेबे, कुशल थलङ, सुष्मा खेवा लिम्बू, किशोर पन्धाक, सीता तुम्बापो पन्धाक, हेमराज अन्छङ्बो, बबिता फोम्बो, इशिका जबेगु, जीवन भट्टराई, भरतमणि पौडेललगायतको मुख्य अभिनय रहेको छ ।

रोमियो फिल्म्स् प्रालिको ब्यानरमा निर्मित ‘घरजम’मा किशोरकुमार लिम्बु र सीताकुमारी तुम्वापोको निर्माण तथा तेज मेन्याङबोको सहनिर्माण रहेको छ । फिल्ममा मुख्य सहायक निर्देशक रवि शेर्मा, कोरियोग्राफर दिनेश माङ्मु, छायाँकन युवराज राई, शृँगार विनोद तामाङ र कास्टिङ डाइरेक्टर सिर्जना सुब्बा रहेका छन् ।