परमिताको दि कर्मालाई सेन्सरको पिजी

काठमाडौ । आगामी माघ १७ गते प्रदर्शन हुने एक्सन–लभस्टोरी फिल्म ‘दि कर्मा’ ले नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)बाट पिजी सर्टिफिकेट पाएको छ । आइतबार सेन्सर बोर्डका पदाधिकारीहरुले फिल्म हेरेपछि १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी पिजी सर्टिफिकेट दिएका हुन् ।

सेन्सर बोर्डले फिल्मको एक एक्सन सिनमा रगत बगेको दृश्यलाई ‘ब्लर’ गर्न पनि निर्देशन दिएको छ । ‘दि कर्मा’ का निर्माता जय राज रायले सेन्सर बोर्डका पदाधिकारीले फिल्म मन पराएको बताए । फिल्म नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आधारित भएर निर्माण भएको बताइएको छ । देवकुमार श्रेष्ठ निर्देशित फिल्मको ट्रेलर र गीत सार्वजनक भैसकेको छ ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको बनेको फिल्मको कथा निर्माता जय राज आफैंले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् ।

फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । ‘दि कर्मा’ को पटकथा तथा संवाद शुशील पोखरेलको हो । फिल्ममा करण वर्मा, नीता ढुंगाना, परमिता आरएल राणा, बुद्धी तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय छ ।