कोरोना त्रासले सर्यो मानवअधिकार चलचित्र महोत्सव

काठमाडौं । मानव अधिकार चलचित्र केन्द्रले यही फागुन २१ गते बुधबारदेखि काठमाडौंमा आयोजना गर्न लागेको आठौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हाललाई स्थगित गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले सभा, सम्मेलन, महोत्सवहरु नगर्न गरेको आह्वानलाई सम्मान गर्दे महोत्सव स्थगितगर्ने निर्णय गरिएको आयोजकले जनाएको छ ।

केन्द्रले निरन्तर रुपमा वार्षिक रुपमा सञ्चालन गर्दै आइरहेको महोत्सवमा नेपाल र नेपालबाहिर मानव अधिकारका विषयमा बनेका फिल्महरु प्रदर्शन गर्ने गरेको छ । यस वर्ष ३२ देशका ८४ फिल्म महोत्सवमा प्रदर्शनका लागि छानिएका थिए । महोत्सवमा भाग लिन १७ देशका २२ जना विदेशी फिल्ममेकरहरु नेपाल आउन लागेका थिए ।

महोत्सवको अर्को मिति स्थिति सामान्य भएपछि घोषणा गरिने आयोजकले जनाएको छ । आठौं महोत्सवमा प्रदर्शनका छानिएका फिल्महरु नै आगामी मितिमा पनि प्रदर्शन गरिने छ ।