नयाँवर्षलाई नेपथ्यको घाम डुब्यो साँझ पर्यो

काठमाडौं । नयाँ वर्षको अवसर पारेर नेपथ्यले सन् २००३ मा रिलिज भएको एल्बम ‘भेँडाको ऊनजस्तो’को ‘घाम डुब्यो साँझ पर्यो’ को भिडियो सार्वजनिक गरेको छ । थोरै अवधिको भएकैले ‘छोटो गीत’ नाम दिइएको यस पुरानो गीतका श्रोताहरुले अब आफूलाई यसका दर्शक पनि बनाउनसक्ने भएका छन् । गीतको लम्बाइ एक मिनेट ४९ सेकेण्ड छ ।

यस गीतको शब्द तथा संगीत डानियल डन कार्थकले तयार पारेका थिए । नेपथ्यको छैठौं एल्बम अर्थात् ‘भेँडाको ऊनजस्तो’ तयार पार्ने बेलामा डानियल ब्याण्डका बेस गितारिस्ट थिए । पछिल्लो केहि वर्षयता नेपथ्यले आफ्नो युट्युब च्यानलमार्फत नयाँ गीतहरु सार्वजनिक गर्दै आइरहेको छ । त्यसैगरि पहिल्यै रिलिज भइसकेका पुराना गीतहरुलाई नयाँ ‘म्यूजिक भिडियो’, ‘लिरिक भिडियो’ वा ‘लाइभ भिडियो’का रुपमा तयार पारेर प्रस्तुत गर्ने मञ्चका रुपमा पनि युट्युब च्यानलको उपयोग गर्न थालेको छ ।

नेपथ्यका गायक अमृत गुरुङका अनुसार यसको दृश्यांकन दक्षिणी अष्ट्रेलियाको एडिलेडस्थित सुन्दर एल्दिंगा समुद्र किनारमा गरिएको हो । आकाश र पानी जोडिएको देखिने क्षितिजमा सूर्यास्त हुँदैगर्दाको मनमोहक दृश्य यसमा समेटिएको छ । उनले गीतले विश्व मानव समुदायले भोगिरहेको हालको त्रासदी पूर्ण अवस्थालाई पनि प्रतिविम्वित गर्ने भएकाले यति बेलाका निम्ति प्राथमिकतामा राखेर रिलिज गरिएको बताए ।